काठमाडौँ, १० असार २०७७ । यहि नोभेम्बरमा अमेरिकामा हुन गईरहेको राष्ट्रपति चुनावका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा अमेरिकामा पूर्व राष्ट्रपति बाराक ओबामा खुलेरै आलोचनामा उत्रिएका छन् ।
उक्त निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका जो बाइडेनको समर्थनमा पूर्व राष्ट्रपति बाराक ओबामा पछिल्लो केही महिनादेखि खुलेर लागि परेका छन् । त्यसपछि ट्रम्प प्रशासनले अमेरिकी जनताप्रति गरेका कदम, कोरोना विरुद्धको लडाई, न्यायलयप्रतिको कामकारवाही सहि नभएको भन्दै ओबामा आलोचनमा उत्रिएका हुन् ।
बाइडेनले आफूलाई ओबामा–बाइडेन शासनकालको ‘उत्तराधिकारी’ का रुपमा बारम्बार प्रस्तुत गर्ने गरेका छन् । सन् २००८ देखि २०१६ सम्म ओबामा राष्ट्रपति रहँदा बाइडेन उपराष्ट्रपति थिए ।
ओबामाले बाइडेनलाई ‘इन्डोर्स’ गरे पनि सँगै कुनै पनि कार्यक्रममा सहभागी भएका थिएनन् । तर मंगलबार सो कमी पनि पूरा भएको छ । बाइडेनको चुनावी अभियानका लागि सहयोग जुटाउनका लागि भएको ‘भर्च्युअल फण्ड रेजर’ मा ओबामा र बाइडेन मंगलबार संयुक्त रुपमा सहभागी भए ।
सो अभियानबाट बाइडेनको अभियानका लागि एक लाख ७५ हजार मानिसबाट ७६ लाख अमेरिकी डलर संकलन भएको छ । यस्तै ठूला दाताहरुबाट थप ३४ लाख अमेरिकी डलर संकलन भएको बाइडेनको चुनावी अभियानलाई उद्धृत गर्दै द वासिङ्गटन पोस्टले जनाएको छ ।
सहयोग संकलनका लागि भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओबामाले भने, ‘तपाईँहरु सबैले सोही अत्यावश्यकता महसुस गर्नु भएको छ जुन मैले गरिरहेको छु । म यहाँ यो भन्नका लागि आएको छु कि सहयोग आउने क्रममा छ ।’ उनले यसो भनेर डोनाल्ड ट्रम्पको विकल्पको कुरा गरेका हुन् ।
ट्रम्पको नाम उल्लेख नगरी ओबामाले आक्रामक आलोचना गर्दै भने, ‘पछिल्लो केही वर्षमा ह्वाइट हाउसले तथ्य तथा विज्ञानको कुनै अर्थ नरहेको भन्ने तर्फ आफूलाई बढाएको देखिरहेका छौँ । त्यसले हजारौँको ज्यान लिएको रोगलाई फेक न्यूज बनाइदिएको छ । न्याय विभाग राष्ट्रपतिको मात्रै ख्याल गर्ने हतियार सुसज्जितहरुको समूह मात्रै बनेको छ । त्यसले लगातार विभाजनलाई बढावा दिएको छ । र देशका केही मानिसलाई अरु भन्दा वास्तविक अमेरिकी ठानिएको छ।’
ओबामाले यसो भनेर कोरोना भाइरसविरुद्ध ट्रम्प प्रशासनको कमजोर प्रदर्शन, रंगभेद तथा विथोलिएको न्याय व्यवस्थामाथि आक्रमण गरे ।
ओबामाले सबैलाई अहिले गरिरहे भन्दा प्रयास अधिक गर्न र चुनावलाई गम्भीर रुपमा लिन आग्रह गरे ।
उनले जो बाइडेनको प्रशंसा गर्दै उनको जीवनले सामान्य अमेरिकी जीवनलाई बुझ्न आफूलाई सहयोग गरेको र उनले सामान्य अमेरिकीका समस्यालाई आफ्नो गरी बुझ्ने बताए ।