घरघरमा तुलसी रोपेर हरिशयनी एकादशी मनाइयो

47

१ नम्बर प्रदेश, विराटनगर, १७ असार २०७७ । सनातन हिन्दु धर्मावलम्बीहरुले मनाउने २४ एकादशीमध्ये सबैभन्दा ठूलो एकादशीका रुपमा आजको दिनलाई मनाउने गरिन्छ । आजको दिन भगवान बिष्णुको पुजा, पाठ र उपासना गर्ने पर्वको रुपमा लिइन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । वैज्ञानिक रूपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ। तुलसीलाई आयुर्वेदिक दृष्टिले बहुउपयोगी औषधीय गुण भएको मानिन्छ । आज व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्‍वास सनातन हिन्दु धर्मावलम्बीमा रहि आएको छ । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ ।
आजको दिन विष्णु भगवानको मठमन्दिरमा भक्तजनहरुको भिड लाग्ने गरेको छ । आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ ।
हिन्दू धार्मिक मान्यताअनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले यस एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा छ ।