काठमाडौँ, २० असार २०७७ । विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को असरले अप्ठ्यारोमा परेका विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउने क्रममा हवाई उडानबाट हालसम्म १६ हजार २ सय ९४ जना रहेका छन् ।
विदेशबाट फर्किएका मध्ये सबैभन्दा बढी बागमती प्रदेशका ५ हजार ३ सय ५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३ सय ९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट ३ हजार ५ सय २७ र सबैभन्दा कम ५ जना श्रीलङ्काबाट स्वदेश फिर्ता भएको ‘कोभिड–१९ सङ्कट ब्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)’ ले जनाएको छ ।
नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गत चैत ११ गतेदेखि मुलुकभर लागू गरिएको बन्दाबन्दीका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो । बन्दाबन्दीसँगै अन्तर्राष्ट्रिय हवाई यातायात पनि बन्द भएपछि विदेशमा अप्ठ्यारोमा परेका स्वदेश आउन चाहने नेपालीलाई सरकारले गत जेठ २१ गतेदेखि सुरक्षित रूपमा स्वदेश फर्काउने कार्य शुरु गरेको हो ।
यस अवधिमा अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४ सय ८३, ओमानबाट ३ सय १३, कतारबाट एक हजार ८ सय १२, म्यानमारबाट २६, जापानबाट ४ सय ९२, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट २ सय २८, बङ्गलादेशबाट ८ सय ४१, मलेसियाबाट एक हजार ५ सय ३७, माल्दिभ्सबाट ७ सय ९, यूएईबाट २ हजार ७ सय ३७, सउदी अरेबियाबाट २ हजार २, सिङ्गापुरबाट १ सय ४६, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ४ सय २०, संयुक्त राज्य अमेरिकाबाट २ सय ८२ र संयुक्त अधिराज्यबाट २ सय २९ नेपाली स्वदेश फिर्ता भएका छन् ।
विदेशमा ल्याइएका यि नेपालीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रूपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखेर व्यक्तिगत विवरण सङ्कलन, स्वास्थ्य परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने गरिँदै आएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १६ गतेको निर्णयानुसार कोभिड–१९ विरुद्धको प्रतिकार्यको सन्दर्भमा उच्चस्तरीय समन्वय समितिको मातहतमा, सहजीकरण समितिअन्तर्गत रही प्रतिकार्यलाई प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रूपमा सम्पादन गर्न सीसीएमसीको स्थापना भएको थियो ।
पछि सरकारले गत जेठ २८ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार उच्चस्तरीय समन्वय समिति विघटन गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा विभिन्न १० मन्त्री सदस्य रहेको सीसीएमसी निर्देशक समिति गठन गरेको हो । समितिले केन्द्र, प्रादेशिक र स्थानीय तहसम्म निजामती, सुरक्षा निकाय र सबै सम्बद्ध निकायमार्फत कोभिड–१९ विरुद्ध समन्वयात्मक रूपमा प्रतिकार्य सञ्चालन गर्दै आएको छ ।