१ नम्बर प्रदेश, विराटनगर–०१ साउन २०७७ । सनातन हिन्दु धर्मावलम्बीहरुको सांस्कृतिक महत्व बोकेको पर्व साउने संक्रान्ति आज घरघरमा हर्षोल्लासका साथ मनाइँदैछ ।
मानो रोपेर मुरी फलाउन लागि परेका किसानहरुको थकित शरिरलाई आजकै दिनबाट विश्राम दिने गरिन्छ । सबैका घरघरमा स्वादिष्ट परिकारका भोजन बनाएर खाने र रोग कटाउने दिनका रुपमा समेत यस पर्वलाई लिने गरिन्छ ।
बिहान शरिर सफा गरेर मिष्ठान्न भोजन पान गरेपछि जेठ, असारभरि हिलोमा गरिएको कामले छालासम्बन्धी रोग नलागोस् भनेर बेलुकी लुतो फाल्ने प्रचलन रहेको छ ।
परम्परागत रुपमा मानिँदै आएको सांस्कृतिक यो पर्वका दिन विहानैदेखि कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी खोज्ने, तीउरेको पात टिपेर त्यसैलाई किच्याइन्थ्यो । साँझभएपछि लुतो जा भन्दै नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने, अगुल्टो मिल्काउने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्थ्यो । अनि हातमा किच्याएको तिउरे लगाएर नङ भित्र पारेर मुठ्ठी बनाई कपडाले बेरेर सुतिन्थ्यो । विहानै उठेर मुठठी पारेर वाँधेको कपडा खोलेर हातमा तीउरे कत्तिको लागेछ हेरिन्थ्यो । साथीभाईलाई देखाउँदै त्यसको रमाइलो ४, ५ महिनासम्म रहने गर्दथ्यो ।
त्यसो त यो साउन महिना भगवान शिवप्रति लिन हुने, भगवान शिवको चेला बन्ने, भगवान शिवको पुजा, आराधना, ब्रत बसेर निष्ठापूर्वक पुजापाठ गर्ने महिनाको रुपमा पनि लिइन्छ । हरेक सोमबारलाई भगवान शिवको दिनका रुपमा महिलाहरुले मेहन्दीमा सजिएर हरियो चुरा पहिरिने प्रचलन पनि रहँदै आएको छ ।
महिलाहरुले मेहन्दीले सजिएका हातमा हरियो चुरा, रातो, पहेँलो वस्त्रका साथ साउनको हरेक सोमबार उपासना बस्ने गर्दछन् ।
साउन महिनाभर पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारणले त्यो भिडभाड गर्न नपाइने र घरमै बसेर शिव भगवानप्रतिको आस्था, निष्ठा र श्रद्धाका लागि पुजापाठ गर्नुपर्ने भएको छ ।