रायुजा संवाददाता
काठमाडौँ, ०६ भदौ २०७७ । यातायात व्यवस्था विभागले गत जुलाईसम्म प्रिन्ट गर्न बाँकी रहेका ७ लाख बढी स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र)को छपाईको काम सम्पन्न गरेको जनाएको छ ।
गत चैत महिनादेखिको बन्दाबन्दीको समयको सदुपयोग गर्दै विभागले प्रिन्ट गर्न बाँकी रहेका लाइसेन्सको छपाइ कार्य पूरा भएको विभागले जनाएको छ ।
बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागलाई बाँकी लाईसेन्स प्रिन्ट गर्न पनि सहज भएको छ । नयाँ लाइसेन्सको आवेदन र परीक्षा रोकिएका कारण बाँकी काम सम्पन्न गर्न सहज भएको विभागले जनाएको छ ।
विभागका अनुसार साउन १५ (जुलाई)सम्मका अनुुमति पत्र सबै छपाइसकिएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी तीर्थराज खनालले भने, “प्रिन्ट गर्न बाँकी रहेका करिब सात लाख ११ हजार थिए, ती सबैका काम सकिएको छ, यो सङ्ख्या गत कात्तिकदेखिको बाँकी थियो । ”
छापिएका लाइसेन्स वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको खनालले जानकारी दिए । विभागले हालसम्म १० लाखप्रति स्मार्ट लाइसेन्स छापिसकेको छ । पछिल्लो समय विदेश पढ्न जाने विद्यार्थी, कामदार, शान्ति सेनामा जानेका लागि द्रुत छपाइको सेवा दिँदै आएको थियो । जसअनुसार दुई दिनमा लाइसेन्स छापेर दिन सकिने व्यवस्था पनि थियो तर हाल सो सेवा वन्द गरिएको निर्देशक खनालले जानकारी दिए ।,