१ नम्बर पदेश, विराटनगर–०७ भदौ २०७७ । आज ऋषि पञ्चमी अर्थात महिलाहरुले दत्तिवन, गोबर र खरानी प्रयोग गरी खोला, नदीमा स्नान गरी तिजको ब्रत समापन गर्ने दिनका रुपमा देशभर मनाइँदैछ । कुनै कुनै खोला वा नदिरुहरुमा कोभिड–१९ कोरोना भाइरसको सक्रमणबाट जोगिन सुरक्षात्मक उपायसहित एका एक महिलाहरु नदी वा खोलामा पुगेर नुहाउने गरिए पनि अधिकांशले घरमै नदी, सागरलाई सम्झेर घरमै स्नान गरी पर्वलाई मनाउने गरिरहेका छन् ।
यसैगरी आजका दिन मन्दीर तथा देवालयहरुमा लाग्ने भिड पनि भएन । सबै मठमन्दिर तथा देवालयहरु शुनसान नै देखिएका छन् ।  भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्ने प्रचलन रहि आएको छ ।  विशेष गरी महिलाले मंगलबार बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन्।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला–पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको धर्मशास्त्रीहरु बताउँछन् ।  आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्ने गरिन्छ । यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।