रायुजा संवाददाता
१ नम्बर प्रदेश, विराटनगर– १५ भदौ २०७७ । मोरङ जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै बजार खुल्ला गर्ने निर्णयलाई कार्यान्वयन गर्दै उर्लाबारी नगरपालिकाले एक हप्ताका लागि बजार खुकुलो बनाएको छ ।
भदौ २१ गतेसम्म जारी रहने उक्त निर्णय सिसिएमसीको बैठकले आइतबार गरेको हो । आजदेखि लागु हुने सो नियममानुसार दिउँसो १२ बजेसम्म बजार खुल्ला हुने र त्यसपछि बन्द हुने भएका छन् ।
नगर प्रमुख तथा सिसिएमसिका संयोजक खड्ग फागोको अध्यक्षतामा भएको उक्त बैठकले बजार, वित्तिय कारोबार गर्ने बैंक, रेमिट्यान्स, सहकारी खुल्ने भएका हुन् । तर कोभिड–१९ सँग सम्बन्धित सुरक्षात्मक मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने, माक्स, सेनिटाइजरको प्रयोगबाट पनि बजार तथा वित्तिय कारोबारका संस्था खोल्न पाइनेछ ।
सुरक्षात्मक मापदण्ड नअपनाएर हेलचेक्र्याई वा लापरवाही गरेको थाहा भए वा अनुगमनमा फेला परे कारवाहीको भागीदार बन्नुपर्ने नियम रहेको उपप्रमुख लक्ष्मीदेवी भण्डारीले बताएकी छन् ।
यसैगरी यातायात आवातजावतमा पनि उत्तिकै कडाई हुने निर्णय भएको उपप्रमुख भण्डारीले बताएकी छन् । भण्डारीका अनुसार उर्लाबारी प्रवेश गर्ने सवारी तथा सामग्रीमा २४ घण्टा निगरानी गरी चालक र सहयोगीको स्वास्थ्य चेकजाँच गरेर मात्र प्रवेश दिने, कृत्रीम बजार सृजना गरी मुल्यृवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने, होटल तथा रेष्टुेन्टहरुले साँझ ७ बजे सम्म खुल्ला गरी होमडेलीभरीको प्रवन्ध मात्र गर्ने, नगरक्षेत्रमा मात्र जोर बिजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्ने र स्थानिय हाट बजार, सैलुन, पार्लर, फुटसल, लज, पार्क, सभा सम्मेलन आदी पूर्ण रुपमा बन्द रहने निर्णय उर्लाबारी नगरपालिकाले गरेको छ ।
नगरले पछिल्लो समयमा छिमेकी पालिकाहरुकाहरुमा संक्रमितको संख्या बढ्न थालेपछि दोस्रो पटक साउन २५ गते राती १२ देखि लकडाउन गर्दै आएको र समुदाय स्तरमा संक्रमण नभएका कारण नगरबासीकोे आवश्यकता र मागलाई ध्यानमा राखी सुरक्षाका विधी अपनाई आंशिक रुपमा बजार खुल्ला गर्ने निर्णय गरेको बताउँदै नगर प्रमुख फागोले अवस्थामा थप सुधार आएमा क्रमिक रुपमा लकडाउन खुकुलो बनाउँदै जनजीवन सामान्यतर्फ फर्काउने योजनामा नगरपालिका अगाडि बढेको नगरप्रमुख फागोले बताए ।