श्रम गरेर पौरख देखाउँछु भन्दा कहिले जग्गा नपाउने त जग्गा पाए पनि सञ्चालन खर्च नहुने अवस्थालाई चिरेर अगाडि बढेका बंगुरपालक किसान मगर अब भने व्यवसायिक बनेका छन् । अब बंगुरको खोजीमा आउने जो कोहीलाई उनी रित्तो हात पठाउन नपर्ने अवस्थामा पुगेर आँटिलो समेत बनेका छन् ।


रायुजा संवाददाता
इटहरी (सुनसरी) । हेर्दा सामान्य लाग्ने तर वर्षौको मेहनत र पसिनाबाट आर्जित जीवनको सपना साँचेर कृषिमा लाग्नेहरु धेरै छन् । उनीहरु कृषि कर्ममा रमाउँदै सरकारी साथ सहयोगको अपेक्षामा बाँचेका छन् । हिउँद, वर्षा, आँधिवेहरी, बाढीपहिरो केही नभनी रातोदिन आफ्नो श्रम खर्च गरिरहेका छन् तर तिनै मेहनती कर्मवीर पौरखी हातहरुबाट सजाइएका कृषि फर्महरु सरकारी वेवास्ताको शिकार बनेका छन् । असाधारण श्रमका प्रतिक मानिएका कर्मवीर व्यक्तिको पौरख इटहरी उपमहानगरपालिका वडा नं. १० शिवालय टोलमा वर्षौदेखि सञ्चालनमा रहेको छ– दाजुभाई कृषि पशुपालन बंगुर फर्म । जसका सञ्चालक हुन कर्मवीर दिल कुमार मगर । जस्तो सुकै परिस्थितिमा पनि आफूलाई सहज बनाउँदै फर्म सञ्चालन गर्नु उनको दैनिकी बनेको छ ।
श्रम गरेर पौरख देखाउँछु भन्दा कहिले जग्गा नपाउने त जग्गा पाए पनि सञ्चालन खर्च नहुने अवस्थालाई चिरेर अगाडि बढेका बंगुरपालक किसान मगर अब भने व्यवसायिक बनेका छन् । अब बंगुरको खोजीमा आउने जो कोहीलाई उनी रित्तो हात पठाउन नपर्ने अवस्थामा पुगेर आँटिलो समेत बनेका छन् ।
आफ्नो जमिन नभए पनि ऐलानी जग्गामा बाँसको भाटाको टाटीको बेराले घेरेर पुरानै जस्ताले छानो छाएर जसोतसो गोठको आकारमा उनले बंगुरपालन गरिरहेका छन् । मगरलाई उक्त फर्ममा बंगुर पालनमा सहयोग गर्ने कर्मशिल र मेहनती परिवारको साथ, सहयोग र समर्थनकै कारणले आज सफल भएको मगर अनुभव सुनाउँछन् । मगर परिवारसँग करिब १६ घण्टा फर्मभित्रै परिश्रम गर्छन । जुन परिश्रमको प्रतिफल हाल उनीसँग उन्नत जातका माउ भुनी ६/७ वटा, पाठापाठी (बच्चाहरु) झण्डै ३०/३५ वटा र मासु परिकारको निम्ति विर वैश्यक १२/१५ वटाको मालिक बनेका छन् । उक्त फर्ममा पुग्ने जोकोहीले सुंगुरबाट देखिने लडिबडी गरिहरेको दृश्य देख्दा जोकोही कृषकको बंगुरपालन तर्फ ध्यान आकर्षित हुने, मोहित हुने मात्र होइन गर्दा हुँदो रहेछ भनेर लोभिने समेत गरेको अनुभव पनि सुनाउँछन मगर ।
त्यही छेउमै अर्का दिल्ली राई कान्छाले पनि १०/१२ वटा पाठा र २/३ वटा वैश्यक पालेका छन् छन् । उनकै प्रेरणाबाट उनले बंगुरपालन सुरु गरेको उनी बताउँछन् । मगर भन्छन् यस अघि संखुवासभाको खाँदबारी गाउँपालिकालाई २१ वटा विर बंगुर बिक्रीवितरण गरेका थिए । साथै अन्य ठाउँहरुबाट माग भई आएमा आफ्नो फर्मबाट उपलब्ध गराउन समयानुकूल नरहे अन्य क्षेत्रबाट ल्याएर पनि ग्राहक, कृषक पशु बंगुर पालकलाई उपलब्ध गराउँदै आएका छन् ।
मगरको सानो फर्ममा १ सय ४५ केजी (झण्डै डेढ क्वीन्टन) सम्मका मासु परिकारका बंगुर रहेका छन् भने सरदर एउटाको २८ देखि ३२ हजार रुपैयाँ आयआर्जनको क्षमता सञ्चित रहने भएकोले घरपरिवारमा सामान्य समस्या आईपर्दा अरुसँग हात फैलाउन नपर्ने तर्क सुनाउँदै अरु सामान्य मानिसलाई पनि पौरखी बन्न मगर सुझाउने गर्छन ।
लामो समयसम्म जारी कोरोना रोग संक्रमणको रोकथाम गर्न नेपाल सरकार तथा प्रशासनले लागु गरेको लकडाउन (बन्दाबन्दी) तथा दैनिक गरी खानेको घर परिवारमा अभावको विकराल विपत्ति उब्जिरहँदा आफूले शुन्य र फुस्रो अवस्था झेल्न नपरेको भन्दै खुशी समेत व्यक्त गर्दछन् मगर ।