रायुजा संवाददाता
१ नम्बर प्रदेश, विराटनगर–२६ भदौ २०७७ । कोभिड–१९ कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारका १ नम्बर प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानीय तह तथा कोरोना अस्पलताका लागि १ करोड १० लाख रुपैयाँ निकासा गरेको जनाएको छ ।
प्रदेशका मुख्यमन्त्री शेरधन राईका अनुसार स्थानीय तहहरुको आवश्यकता र माग बमोजिम प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको छ ।
मुख्यमन्त्री राईका अनुसार सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय तह, जिल्ला अस्पताल, प्रशासन लगायतलाई आवश्यक रकम पठाएको हो।
उनले कोभिड महामारीलाई पराजित गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको प्रस्टाएका छन्।
मुख्यमन्त्री राईले मोरंगका सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिकालाई समान १० रुपैया उपलब्ध गराएको छ। त्यसैगरि, धनपालथान गाउँपालिका, जहदा र कटहरी गाउँपालिकालाई पनि समान ५ लाख रुपैया आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाएको हो।
त्यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १० लाख, झापाको गौरीगञ्ज र कमल गाउँपालिकालाई समान ५ लाख रकम प्रदेश सरकारले पठाएको छ।
ईलाम अस्पताललाई १० लाख, उदयपुर अस्पताललाई १५ लाख, झुम्का कारागारलाई १० लाख रकम पठाएको प्रदेश सरकारले जनाएको छ।
सुनसरी जिल्लाको क्वारेन्टिन, आइसोलेसन र होल्डिङ्ग सेन्टरको व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसर भित्रको आइसोलेशन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख रकम प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको हो।