रायुजा संवाददाता
विराटनगर, २७ भदौ २०७७ । रिसले आफैलाई खान्छ भन्ने उक्तिलाइ सार्थक बनाउँदै सामान्य विषयमा रिस बढी भएपछिको घटनाले अन्ततः एकको ज्यान गयो भने अर्का प्रहरी खोरमा पुगे ।
यतिबेला कोरोनाको कहरमा परेका भाडावालाहरु घरधनीको सहारा खोजिरहेका छन् । यो अवस्थामा सबै घरधनीहरु मनकारी भईदिए भोलिका दिनमा गरिखान सहज हुने उनीहरुको अपेक्षा रहेको बेला काठमाडौंमा एक घरधनीले भाडावालामाथि आग्लो प्रहार गरेको खबरले ति तमाम भाडावाला त्रसित बनेका छन् । कतै घरधनीहरु हिंस्रक मार्गमा गएका त होइनन् ।  उपत्यकाको किर्तिपुरमा गएको शुक्रबार एउटा अकल्पनिय घटना हुन पुगेको छ । त्यहाँ घरधनीले भाडामा बस्नेमाथि आग्लो प्रहार गर्दा भाडावालाको निधन भएको छ भने घरवाला प्रहरी खोरमा पुगेका छन् ।
बाराको कलैया स्थायी घर भएका ४८ वर्षीय शम्भु चौधरी डेरा सर्ने तयारीमा रहँदा आवश्यक पानी थाप्दै गर्दा घरधनी ६६ वर्षीया प्रेमकृष्ण महर्जन आएर आग्लोले हिर्काउँदा उनी भुइँमा ढलेको र उपचारका क्रममा उनको निधन भएको महानगरीय प्रहरी वृत कीर्तिपुरका प्रमुख रुपेश तन्डुकारले बताएका छन् ।
प्रहरीका अनुसार घरबेटी महर्जनसँग लामो समयदेखि सम्बन्ध बिग्रिएकाले चौधरी परिवार शुक्रबार कोठा सर्ने तयारीमा थियो। कोठा सर्नेक्रममा शम्भुले पानी थापिरहेका बेला अगाडि आइपुगेका महर्जनसँग विवाद भएको र झगडा बढ्दै जाँदा घरबेटीले आग्लोले हिर्काएको प्रहरीले जनाएको छ।