रायुजा संवाददाता
काठमाडौं, ०५ असोज २०७७ । २०१३ सालदेखि निरन्तर प्रदान गरिँदै आएको मदन पुरस्कार २०७६ मा महारानी उपान्यासका लागि चन्द्रप्रकाश बानियाँले पाउने भएका छन भने २०४५ सालदेखि निरन्तर दिँदै आएको दगदम्बा श्री पुरस्कार २०७६ गायिका तथा सङ्गीतकार शान्ति ठटाललाई प्रदान गर्ने निर्णय भएको छ ।
मदन पुरस्कार गुठीको आइतबार (४ असोज) बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको गुठीले जनाएको छ ।
विसं २०७५ को मदन पुरस्कार पनि योगेश राजको ऐतिहासिक उपन्यास ‘रणहार’लाई प्रदान गरिएको थियो । गुठीले दिएको जानकारी अनुसार मदन पुरस्कारका लागि १ सय ५१ पुस्तकले प्रतिष्पर्धा गरे पनि अन्तमा सात पुस्तक छनोटमा परेका थिए । छनौटमा परेका पुस्तकहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु ९खण्ड १–३०, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा कृति पनि मदन पुरस्कार सूची २०७६ मा छनोटमा परेका थिए ।
यसैगरी सभाले गत ६ दशकदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा समर्पित रही विशिष्ट योगदान पु¥याएवापत गायिका तथा सङ्गीतकार शान्ति ठटाललाई २०७६ सालको जगदम्बा–श्री पुरस्कार दिने निर्णय गरेको छ । विसं २०७५ को जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई प्रदान गरिएको थियो ।
विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलो पल्ट २०१३ सालदेखि मदन पुरस्कार दिन थालेको हो । विसं २०१३ मा गद्यविधामा सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’, चित्तरञ्जन नेपालीको ‘ जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा बलराम जोशीको ‘अधिकविभक स्थिरविद्युत् उत्पादक’लाई पुरस्कार प्रदान गरेको थियो ।
यस्तै २०४५ सालदेखि गुठीले जगदम्बाश्री पुरस्कार दिन थालेको हो । सो पुरस्कार पहिलो पटक गायक तथा सङ्गीतकार नारायणगोपाललाई प्रदान गरिएको थियो ।