रायुजा डेक्स समाचार
विराटनगर । विराटनगर । सरकारले प्रतिबन्ध लगाएको पार्टी नेत्र विक्रम चन्द (बिप्लव) नेकपा कम्पनी कमिश्नर मोरङ प्रहरीको सक्रियतामा विष्फोटक पदार्थसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बिप्लव समूहका पुर्वी कमाण्डका कम्पनी कमिश्नर विज्ञान राई समन र काशीनाथ घिमिरे प्रतिकलाई बुधबार मिक्लाजुङ गाउँपालिका क्षेत्रबाट पक्राउ गरिएको बताए । पक्राउ परेका राई ईलामको चुलाचुली गाउँपालिका वडा नं. ६ का बासिन्दा हुन भने घिमिरे सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ का बासिदा रहेको प्रहरी प्रमुख खड्काले बताए ।
प्रहरी उपरीक्षक खड्काका अनुसार पक्राउ परेका घिमिरे विप्लव समूहको पूर्वी कमाण्ड मेची कोशी ब्यूरो चौथो कम्पनी कमिश्नर र राई पार्टी सदस्य रहेका छन् । घिमिरे सप्तरी जिल्लाको पूर्व सेक्रेटरी समेत रहिसकेको खुलेको खड्काले बताए ।
प्रहरी प्रमुख खड्काले विशेष सुराकीका आधारमा मोरङको मिक्लाजुंग गाँउपालिकामा स्थानीयसंग चन्दा रकम असुल गर्दै गर्दा मिक्लाजुंग १ घुर्मिसेस्थित विजुलीप्रसाद तिम्सिनाको घरबाट पक्राउ गरिएको जानकारी दिए ।
यसक्रममा दुवैजनाको साथबाट हातहतियार खरखजाना, विष्फोटक पदार्थ, चन्द समूहको दस्तावेजका सामग्री समेत फेला परेको छ ।
प्रहरीले उनीहरुको साथबाट १ थान नालसहित भरुवा बन्दुक, त्यसमा प्रयोग हुने १ बट्टा फलामको टुक्रा, विष्फोटक पदार्थ जिलेटिन ३ किलोग्राम, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, नन इलेक्ट्रिक डेटोनेटर १८ थान, लाईटर ६ थान, १२ भोल्टको ब्याट्री १ थान र गन पाउडर र बारुद ४ बट्टा बरामद गरेको छ ।
१५ हजार रुपैयाँसहित प्रहरीले सेफ्टी फ्युज तार ३८ मिटर, बिजुलीको तार ९० मिटर, १० थान मोबाइल, खुकुरी ४ थान, दाउ १ थान, नेपाल टेलिकमको ७ वटा र एनसेलको २ वटा सिमकार्ड फेला पारेको छ ।