कात्तिक महिनामा सुनसरी, मोरङ र झापामा राहतसहित खाना खुवाउने कार्यक्रम

रायुजा संवाददाता
धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजनीतिकसँगै सामाजिक दायित्व वहन गर्न फरक शैली अपनाएको छ । यस पार्टीका देशैभरका विभिन्न तहका समितिमार्फत कोषमा भएको रकमको १० प्रतिशत अनिवार्य रुपमा देशभरका अनाथ, अपाङ्ग, जेष्ठ नागरिकलगायत आर्थिक पहुँच नभएका बेसहाराको सहारामा खर्च गर्ने लक्ष्य र उद्देश्य परिपुर्ति गर्दै हिंडिरहेको छ । ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रमा उभिएर बडादशैं २०७७ को पावन अवसरमा सो पार्टीका केन्दीय अध्यक्ष लाक्पा तामाङ धनकुटास्थित मूलघाटको विश्रद्धान्ति बृद्ध आश्रममा आश्रित जेष्ठ नागरिकको सहयोगमा आइपुगेका छन् ।
कोभिड–१९ बाट बच्ने स्वास्थ्य सामग्रीसहित उक्त बृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई खाना खुवाउने कार्यक्रम अन्तर्गत आएको अध्यक्ष तामाङले बताए । सो कार्यक्रममा पार्टीका जिल्ला, नगर र वडाका अध्यक्षसहितको उपस्थिति रहेको उक्त कार्यक्रममा सेनिटाइजर, माक्स, विस्कुट, फ्रुटिसहित उक्त आश्रमका आश्रित ३८ जना जेष्ठ नागरिकलाई खाना खुवाएको केन्द्रीय सदस्य कृष्ण कुमार घिमिरे (क्षेत्री) ले जानकारी दिए । उक्त राहत तथा खाना वितरण अध्यक्ष तामाङसहित उपस्थित सबैले हस्तान्तरण गरेका थिए ।
घिमिरेका अनुसार राप्रपा नेपाल अन्य पार्टीभन्दा फरक धारबाट जनताको मन जित्दै हिंडेको र दुःखी र पीडित नेपालीको सहयोगबाट मात्रै धर्म र कर्म दुवै मिल्ने भएकाले पार्टीले सोही नीति अनुसार पार्टीका सबै निकायहरुलाई परिचालन गरी देशै भर सहयोग तथा राहत वितरण गर्दै आएको बताए । कोषको रकमबाट सामाजिक अभियानमा लगानी गर्ने पहिलो पार्टी राप्रपा नेपाल भएको दावी गर्दै केन्द्रीय सदस्य घिमिरेले कात्तिक महिनामा सुनसरी, मोरङ र झापामा राहतसहित खाना खुवाउने कार्यक्रम रहेको जानकारी दिए । राप्रपा नेपालले बुद्ध राष्ट्र निर्माणबाट सबै जातजाति, धर्म र सम्प्रदायलाई एउटै थलोमा राख्न सकिने उद्देश्यका साथ चुनाव चिन्ह गोरु लिएर राजनीतिक फिल्डमा उत्रिएको छ ।