निष्ठावान कांग्रेस नेता कार्कीको निधन, पार्टीको झण्डा ओढाएर दाहसंस्कार

620

खगेन्द्रजंग कार्की
कानेपोखरी (मोरङ) । भोजपुरदेखि मोरङसम्म बसेर निष्ठा, इमान्दार, त्याग र समर्पणबाट नेपाली कांग्रेसको राजनीति गरिरहेका नेता हरि बहादुर कार्कीको निधन भएको छ ।

ज्वरो तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरमा उपचार गराउँदै गर्दा कोभिड–१९ संक्रमण पुष्टि पछि मोरङको कानेपोखरी २ कालिकोशीस्थित घरमै होम आइसोलेसनमा रहेका कार्कीको ८५ वर्षको उमेरमा बुधबार विहान निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

सरकारी सेवा तथा सुविधाबाट टाढै रहेर कांग्रेसको संगठनात्मक संरचना मजबुत बनाउँदै आफूलाई कांग्रेसमा समर्पित गरेका नेताको निधनले पार्टी पंक्ति मात्र नभएर भाईबन्धु, आफन्तजन, इष्टमित्र, शुभेच्छुकलगायत भोजपुरको अरुण गाउँपालिका र मोरङको कानेपोखरी गाउँपालिकाबासी दुखित र स्तब्धित बनेका छन् ।

भोजपुरको साविक प्याउली गाविसबाट राजनीति सुरु गरेका कार्की शारदा माध्यमिक विद्यालय प्याउलीको अध्यक्ष,
मोरङ जिल्लाको केरौन गाउँपालिका अध्यक्ष उम्मेदवार हुँदै नेपाली कांग्रेस महासमिति सदस्य रहँदै आएका थिए ।
बुधबारै कार्कीको पार्थीव शरिरलाई नेपाली कांग्रेसले श्रद्धाञ्जली अर्पण सहित शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै पार्टी झण्डा ओढाएका थिए । उक्त श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस भोजपुर जिल्ला संगठन बिभाग प्रमुख तथा अरुन गाउँपलिका अध्यक्ष गजेन्द्र बहादुर कार्की तथा कानेपोखरी गाउँपालिका सभापति, कोषआध्यक्ष लगायतका कांग्रेसका नेता तथा कार्यकर्तासहित आफन्तजन, इष्टमित्र, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।