विराटनगर, ३ मंसिर । जातिय सद्भाव र एकताको प्रतिकको रुपमा मनाइने छठ पर्व तराई तथा पहाडमा कोभिडको सकसका बीच मनाइँदैछ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बुधबारदेखि शुरू भएको छ ।
मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।
जीवनदायी शक्ति सूर्य देवता र छठीमाताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ । सूर्यलाई आरोग्यका देवताका साथै निर्धनताका निवारक पनि मानिन्छ ।
छठपर्वमा सूर्यको पूजाअर्चना गर्नु मूल तत्व मानिए पनि छठ परमेश्वरी र भगवान सूर्य उपासनाको सम्मिलित पर्व मानिन्छ । यसरी एउटै आराध्यदेवलाई पुरूष र स्त्री दुवै संज्ञाले भक्तिभाव प्रकट गर्नुको अभिप्राय सृष्टिको प्राकृतिक स्वरूपप्रति सम्मान गर्नु हो ।
पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठपर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ ।
छठपर्व विशुद्धरूपमा प्रकति र पुरूषको पूजा हो । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ ।
देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ । यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here