कर्मचारीको पहुँच त यस्तो पो ? सरकारी निर्देशनलाई चुनौति दिँदा पनि महावाणिज्यु दुतबाट पुरस्कृत

44

काठमाडौंं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साढे ३ महिनाअघि १ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेका प्रधानमन्त्री कार्यालयका सहसचिव दिनेशकुमार घिमिरेलाई सरकारले छेन्दुको महाबाणिज्यदूत बनाएर पुरस्कृत गरेको छ । सामान्य प्रशासन मन्त्रालयले घिमिरेलाई २०७७ भदौ ९ गते १ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेको थियो । तर उनी सरुवा भएको निकायमा नगई सरकारको निर्णयलाई चुनौती दिएर बसेका थिए । निजामती सेवा नियमावलीको दफा ३९ मा खटाएको ठाउँमा हाजिर भएपछि मात्र त्यो कर्मचारीको अन्यत्र सरुवा वा काज हुन्छ । तर खटाएको ठाउँमा हाजिर नगरी सरकारलाई नै चुनौती दिए पनि सहसचिव घिमिरेलाई चीनको छेन्दु सहरको बाणिज्यदूत बनाइएको छ ।
सरुवा भएको १ नम्बर प्रदेशमा जान पारिवारिक कारण देखाएका उनी चीनको छेन्दुमा जान भने मरिमेटेर लागेका थिए । सामान्य प्रशासन मन्त्रालयका अधिकारीको प्रश्न छ–‘बिराटनगर जान पारिवारिक समस्या हुने तर छेन्दु खुसीखुसी जाने कस्तो दोहोरो नीति हो रु’
सहसचिव घिमिरे चीनको छेन्दुस्थित महाबाणिज्यदूतमा जान शक्तिकेन्द्रको परिक्रमा गरिरहेको समाचार नेपालफेसले मंसिर १० मै खुलासा गरेको थियो ।
यसैगरी, सरकारले गरेको सरुवालाई चुनौती दिंदै साढे ३ महिनादेखि अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाको प्रमुखका रुपमा कार्यरत सहसचिव श्रीकृष्ण नेपाललाई पनि छिट्टै वासिङ्टनको कन्सुलेटमा पठाउन लागेको छ । सामान्य प्रशासन मन्त्रालयले गएको भदौ ९ मा बरिष्ठताका आधारमा सहसचिवहरुलाई प्रदेशमा सरुवा गरेको थियो, जसमा प्रधानमन्त्री कार्यालयका सहसचिव घिमिरे र अर्थ मन्त्रालयका नेपाल पनि परेका थिए । तर ५४ सहसचिव खटाएको प्रदेशमा गई काम गरिसकेका छन् । तर घिमिरे, नेपालसहित ६ सहसचिव अझै पनि अटेर गर्दैआएका छन् ।