युवा जागरण संवाददाता
विराटचोक (मोरङ) । मोरङसुनसरी सेवा समाज नेपालको नवौं वार्षिकोत्सवको अवसरमा मोरङको सुन्दरहरैंचा–१० विराटचोकमा खुल्ला रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सुन्दरहरैंचा नगरपालिकाको विशेष आर्थिक सहयोगमा सुकुना सामुदायिक अस्पतालको प्राङ्गणमा आयोजित उक्त खुल्ला रक्तदानबाट ४४ पिन्ट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्र विराटनगर र स्थान उपलब्ध गराउने सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रममा मोसु विश्ववयापीकरणकै रुपमा आजिवन, पदाधिकारी, सल्लाहकार, पूर्व पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो ।
मोरङ सुनसरी सेवा समाज नेपाल र संस्थामा आवद्ध सदस्यहरुलाई समृद्धिको मार्गमा अगाडि बढाउन स्थापित भएका ट्रेडभिजन इन्भेष्टमेन्ट प्रा.लि., आत्मनिर्भर कृषि सहकारी संस्थासहितको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष लोकबहादुर तामाङ बताउँछन् । तामाङका अनुसार चित्रेटोल युवा समूह, पाथिभरा स्वतन्त्र महिला समाज, सुशेली एफ.एम, सामाजिक अभियन्ताहरु नवराज चापागाईं, नगेन्द्र दाहाल, लेखु प्रसाद ढकाललगायतको ठूलो साथ र सहयोग प्राप्त भएको संस्थाका अध्यक्ष तामाङले बताए ।
बिहान ८ बजेदेखि सुरु गरिएको सो कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुखले उद्घाटन गर्ने कार्यक्रम रहेपनि कार्यव्यस्तताका कारण नगरप्रमुखको समय प्रतिकूल बनेपछि पानसमा बक्ति बालेर सिधै रक्तदान कार्यक्रम सुरु भएको अध्यक्ष तामाङले बताए । कार्यक्रममा अतिथि तथा सहयोगीहरुलाई मायाको चिनो समेत हस्तान्तरण गरिएको थियो ।