विराटनगर । संघीय संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय पछि विभाजित बनेको सत्तारुढ नेकपाको विवाद अहिले उत्कर्षमा छ ।
संघ हुँदै अहिले सकेसम्म प्रचण्ड माधव समूह ओली निकट मुख्यमन्त्री रहेका सबै प्रदेशमा पनि सरकार बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागिपरेका छन ।
बाग्मती प्रदेश र प्रदेश नं १ मा अविश्वास प्रस्ताव दर्ता भएपछी उत्कर्षमा पुगेको नेकपा विवादले प्रदेश सरकार संकटमा परेका छन । यसैक्रममा प्रदेश नं १ मा कांग्रेस नेतृत्वमा सरकार बन्ने संभावना बलियो हुँदै गएको छ ।
प्रदेश नं १ मा अहिले ९३ जना सांसद मध्ये प्रचण्ड नेपाल पक्षमा ३७ जना,ओली पक्षमा ३० जना,नेपाली कांग्रेसका २१ जना,संघिय समाजवादीबाट ३ जना,राप्रपा बाट १ जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जना सांसद छन ।
प्रदेश सभामा सरकार बचाउन र बनाउन विभिन्न प्रयासहरु भैरहदा मुख्यमन्त्री शेरधन राई सके आफ्नो सरकार जोगाउने नसके कांग्रेसलाई मुख्यमन्त्री दिएर भए पनि सत्तासमिकरण गर्ने निष्कर्षमा पुगेको चर्चा चल्न थालेको छ ।
प्रचण्ड माधव समुहलाई निषेध गर्दै आफ्नो सरकार ढलेको खण्डमा कांग्रेसलाई मुख्यमन्त्री दिने विषयमा छलफल हुबे खुलासा मुख्यमन्त्री राईले गरेका हुन ।
इमेज च्यानल सगको कुराकानीमा राईले कांग्रेसले मुख्यमन्त्री माग गरे छलफल गर्न सकिने बताएको इमेज च्यानल स्रोतले उल्लेख गरेको छ ।
यदि शेरधन राईको मुख्यमन्त्री धरापमा परे कांग्रेसबाट संसदिय दलका नेता राजिव कोइराला मुख्यमन्त्री हुने संभावना बलियो देखिन्छ । प्रदेश सरकार गठनका लागि ४७ मत आवश्यक पर्नेमा कांग्रेस र ओली समूह मिले ५१ सांसदको समर्थनमा नयाँ मुख्यमन्त्री चयन हुने निश्चित छ । यदि यसो भएमा कांग्रेसको सुनसरी सभापति समेत रहेका संसदीय दलका नेता राजिव कोइराला प्रदेश नं १ को दोश्रो मुख्यमन्त्री नहोलान भन्न सकिन्न ।