दुहवीमा २ सय ३३ घर, इटहरीबाट तरहरासम्म १ सय १९ घर भत्किने

रायुजा संवाददाता
सुनसरी । १० अर्ब कुल लागत भएको १ नम्बर प्रदेशको परियोजना रानी–विराटनगर–इटहरी–धरान अन्र्तगतको ६ लेनको सडक निर्माणको कार्य ४५ प्रतिशत पुरा भएको छ । लामो समयदेखि मुआब्जाको विषयले विवादमा रहेको उक्त सडक निर्माणमा मुआब्जाको विषय किनारा लागेको हुनाले अब गतिलिने सबैको अपेक्षा रहेको छ ।
सुनसरीको दुहबीदेखि तरहरासम्मको सडक मापदण्डमा पर्ने घरहरूको मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै ६ लेन उक्त सडक निर्माण अघि बढ्ने भएको हो ।
आउँदो माघ महीनाभित्र सकिने गरी सडक क्षेत्रभित्र पर्ने करीब ६०० भौतिक संरचना हटाउने तयारी भइरहेको आयोजना प्रमुख बद्रीप्रसाद शर्माले बताए । पहिलो चरणमा लगत संकलनको कार्य शुरू गरिएको र केही ठाउँहरूमा सकिएको उनले जानकारी दिए ।
लामो समयदेखि विवादित बनेको सडक विस्तारको काम अघि बढाउन स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी र मालपोत कार्यालयको प्रमुख र प्रहरी प्रशासनबीच छलफल भएको थियो । छलफलमा जग्गाको मुआब्जा दिन नसकिने तर घरहरूमा भएको क्षति संकलन गरी मुआब्जा दिने सहमति भएपछि काम अघि बढेको आयोजनाका प्रमुख शर्माले बताए ।

विराटनगर इटहरी धरान छ लेन सडक योजना अन्र्तगत इटहरीमा सडक सिमाभित्र पर्ने संरचना सात दिनभित्र हटाउन इटहरी उपमहानगरपालिकामा बसेको बैठकबाट पुस १४ गते सूचना जारी भए पनि अहिलेसम्म त्यसको कुनै असर देखिएको छैन । सूचना जारी भएको सात दिन भित्र सडक सिमाभित्रको आ आफनो संरचना नहटाए इटहरी उपमहानगर,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय लगायतको सहयोगमा ठेक्कापटटा भएको सडक सिमाभित्रका संरचना हटाउने निर्णय भएको छ ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम,सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल, प्रहरी प्रमुख कमल थापा, इटहरी उपमहानगरका वडाध्यक्षहरु तथा रानी विराटनगर इटहरी धरान सडक योजनाका प्रमुख वद्रिप्रसाद शर्मा लगायत सरोकारवाला सहभागि वैठकले यस्तो निर्णय गरेको हो ।
वैठकमा सडक सिमा भित्रका संरचना नहटाइएका कारण निर्माण कार्यमा वाधा भएको बिषयमा छलफल भएको थियो । यसअघि २०७६ फागुन १६ गते उपमहानगरमा वसेको बैठकले सडक सिमा खाली गराउने निर्णय गरेको थियो ।

स्थानीयवासीले जग्गाको पनि मुआब्जा मागेपछि सो क्षेत्रमा सडक निर्माण रोकिएको थियो । तर सहजीकरण भएसँगै अब कामले तीव्रता पाउने आयोजना प्रमुख शर्माको भनाइ छ । कामलाई शान्तिपूर्वक सम्पन्न गराउन र लगत संकलन गरी सम्बन्धित ठाउँमा बुझाउन नापी कार्यालय सुनसरी र दुहबी नगरपालिकालाई पत्राचार समेत गरिसकिएको बताइएको छ ।
राजमार्ग निर्माण प्रक्रिया अघि बढेसँगै सुनसरीको दुहबी बजारमा मात्रै २ सय ३३ भन्दा बढी घर भत्किने भएका छन् । त्यस्तै टेंग्रा पुल छेउ ४७, इटहरी चोकदेखि दक्षिण विराटनगर लाइनमा ३५ घर भत्काउनुपर्ने छ । इटहरी चोक उत्तर तरहरासम्मको बाटोमा १ सय १९ ओटा घर भत्काइसकिएको छ ।
यता, तरहरा–धरान चारकोसे झाडी क्षेत्रमा भने रूखहरू काट्ने काम सकिएको र गिट्टी बिछ्याउने काम शुरू हुने आयोजनाले बताएको छ । परियोजना सम्पन्न गराउन २०७७ असार ५ गते रौताहा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको छ । कम्पनीले आगामी २०८० असार ४ गतेसम्ममा काम सम्पन्न गरिसक्नु पर्नेछ ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here