रायुजा न्युज डेक्स
काठमाडौं । राष्ट्रपतिको निर्वाचनबाट दोस्रो कार्यकालका लागि हारेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः सत्ता हस्तान्तरण गर्न राजी भएको भिडियो ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।
अमेरिकी संसदमा हिंसा भड्किएको २४ घण्टापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो ट्विट गरेर हिंसात्मक घटनाको निन्दा पनि गरेका छन् ।
उनले भिडियोमार्फत हिंसा भड्काउने कार्यमा संलग्न भएकाहरुप्रति खेद व्यक्त गरेका छन्। साथै उनले आफू ‘व्यवस्थित’ सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध रहेको पनि बताएका छन्।
उनले भिडियोमा भनेका छन्, ‘म संसदमा भएको हिंसा बारे सुरुमा कुरा राख्न् चाहन्छु । सबै अमेरिकी जस्तै यो घटनाबाट म पनि दुःखी छु। मैले तुरुन्तै घुसपैठ गरेका व्यक्तिहरुलाई निकाल्न र सुरक्षा कायम गर्न निर्देशन दिएको थिए।’
तर कतिपय सञ्चार माध्यमहरुले त्यहाँ सुरक्षा बलको तैनाथी उपराष्ट्रपति माइक पेन्सको निर्देशनमा भएको उल्लेख गरेका छन्। समाचारहरुमा जनाइए अनुसार ट्रम्प त्यसको विरोधमा थिए।
ट्रम्पले आफ्नो भिडियो सन्देशमा अमेरिकालाई सधैँ एक कानुनी व्यवस्था भएको देश बनाइराख्नु पर्ने बताएका छन्। साथै उनले संसदमा हिंसा मच्चाउनेहरुले अमेरिकी लोकतन्त्रलाई अपवित्र बनाएको पनि बताएका छन्।