रायुजा संवाददाता
विराटनगर । राष्ट्रिय सांस्कृतिक एकता, सदभावको पर्वका रुपमा मानिँदै आएको साझा पर्व माघे संक्रान्ति भोलि बिहीबार माघ १ गते देशभर मनाइँदैछ । यस सांस्कृतिक पर्वका अवसरमा सबैलाई सहज बनाई हर्षोल्लासका साथ मनाउन सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
हिन्दू, बुद्धमार्गी र किराँत समुदाय मानिसहरुले यस पर्वलाई साझा पर्वका रुपमा विशेष गरेर मनाउने गर्दछन् ।
हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । त्यस्तै थारु समुदायले माघी र खिचरा पर्वका रुपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउँछन् ।
समुदाय विशेषमा यो पर्व मनाउने तरिका फरक देखिए पनि सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरुका साथमा यो पर्व मनाउछन् ।
माघी पर्व : थारु समुदायले माघे संक्रान्तिलाई ‘माघी’ भन्छन् भने यो थारु समुदायका लागि महत्वपूर्ण चाड हो । माघी पर्व मेचीदेखि महाकालीसम्मका थारु समुदायले विशेष उल्लासका साथ मनाउँछन् । मध्य र सुदूरपश्चिमका थारु समुदायको बस्तीमा माघी उत्सव विषेश खालको हुने गर्छ ।
माघ १ गते थारु समुदायको नयाँ वर्ष सुरु हुन्छ । थारु समुदायमा ‘माघी पर्वमा पुरानो वर्षको समिक्षा र आगामी वर्षको लागि नयाँ योजना बनाउने काम गरिन्छ,’ दाङ क्षेत्रनम्बर एकबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी भन्छन्, ‘मान्यजनहरूसँग आशिर्वाद लिने, आफूभन्दा सानालाई आशिष दिने र सम्बन्धहरू नविकरण गर्ने दिन हो ।’
माघी मनाउन थारुहरु विदा लिएर टाढा(टाढाबाट आफ्नो गाउँघर फर्किन्छन् । चेलिबेटीहरूलाई घरमा बोलाउने, मिठा परिकार खाने(खुवाउने र नाचगान गाउने चलन छ । माछा, सुँगुरको मासु, मुसाको मासु, घोंगी, ढिक्री, जाँड, रक्सि थारु समुदायका विशेष परिकार हुन् । यी परिकार पकाउनका लागि आवश्यक सामाग्रीहरुको जोहो गर्न दुई महिनादेखि दौडधुप सुरु हुन्छ ।
थारु समुदायले गाउँको मुखिया चुन्ने काम पनि माघी संक्रान्तिमै गर्दछन् । साथै कमैया र कम्लहरी प्रथा नहटुन्जेलसम्म उनीहरुले काम जारी राख्ने कि छाड्ने निधो पनि यही दिनमा हुन्थ्यो । हाल कमलरी र कमैया प्रथा हटिसके पनि जमिन्दारहरुको खेतबारी जोत्ने (अधिया लगाउने) काम भने कायमै छ र यसको निर्णय पनि माघ महिनामै गर्ने चलन कायमै छ ।
माघ महिनामा मघौटा नाच नाच्ने गरिन्छ । सो नाचमा गाइने ‘सखिय हो, माघीक गुरी(गुरी जाँड’ भन्ने गीत निकै चर्चित पनि छ ।
किराँतको नयाँ वर्ष ५०७८
माघे संक्रान्तिसँगै सोमबारबाट किराँत नयाँ वर्ष ५०७८ पनि सुरु भएको छ । पूर्वमा ताप्लेजुङसँगै पाँचथर, तेह्रथुम, इलाम, धनकुटा र संखुवासभामा बसोवास गर्ने लिम्बू समुदायले बिहीबार धुमधामका साथ किराँत नयाँ वर्ष मनाउने तयारीमा जुटेका छन् ।
किराँती राजा यलम्बरको शासन सत्तासँग इतिहास जोडिएको किराँत सम्बत नेपाल सम्बत भन्दा ३ हजार ४ वर्ष जेठो रहेको छ । माघे संक्रान्तिलाई किराँत लिम्बूहरुले यले तङबेसँगै ककफेवा तङनाम भनेर पनि मनाउने गर्छन ।
माघ १ बाट उच्च पहाडमा पाइने दुर्लभ प्रजातीको सेतो चाँप फुल्ने भएकाले मकर संक्रान्तीलाई ककफेवा तङनाम भनिएको हो । भोलिको दिन लिम्बूहरु परम्परागत भेषभुषामा सजिएर आफन्तकहाँ जाने, धान नाच र च्याबु्रङ नाच्ने तथा मान्यजनका हातबाट बनतरुल पोलेर टिका ग्रहण गर्ने परम्परा रहेको छ ।
पाँचथरको फिदिम, शिलौती, लब्रेकुटी, काबेलीसँगै ताप्लेजुङ,,तेह्रथुम र धनकुटा सहित विभिन्न स्थानमा किराँत नयाँ वर्षका अवसरमा लिम्बू समुदायले खुशी साटासाट गर्नेछन् ।
हिन्दूको साँस्कृतिक चाड ः माघे संक्रान्ती पर्वलाई स्थान विषेशअनुसार मनाउने चलन छ । पहाडी भूभागमा बस्ने ब्राम्हण समुदायले बिहानै नुवाई धुवाई गरेर खिचडी खाने गर्छन् । घ्यु, मासको दाल र चामल मिसाएर खिचडी बनाएर खाने चलन छ ।
घ्यु र चाकु पनि खाने चलन छ । पहाडी क्षेत्रमा विषेश त सखरखण्ड, तरुल र पिँडालु उसिनेर खाने चलन छ । कतिपयले घरमा मासको फुरौला पनि बनाउँछन् । दिउँसोको खाजाको रुपमा सेलरोटी पकाएर खाने चलन पनि छ ।
धार्मिक मान्यता अनुसार पनि माघ महिना विषेश हुन्छ । सामान्यतया पुस महिनामा विवाह व्रतबन्ध जस्ता कार्यक्रम नहुने हुँदा माघ सुरु भए लगत्तै विवाहलगायत शुभकार्य गर्ने चलन छ । गाउँघरमा माघ लागेपछि जाडो सकिएर गर्मी सुरु हुने विश्वास पनि छ ।

अनलाईन खबरको सहयोगमा

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here