उद्योग तथा व्यापार व्यवसाय पुरानै अवस्थामा फर्कदै

9

रायुजा संवाददाता
विराटनगर । कोरोना भाइरस कोभिड(१९) महामारीको कारण जर्जर र अस्तव्यस्त भएको अर्थतन्त्र चाडपर्व सकिएसँगै क्रमशः पुरानै अवस्थामा फर्कन थालेका छन् । देशभरका गाउँ तथा सहरबजारहरु पुरानै अवस्थामा खुल्ला भएका छन् । लामो तथा छोटो दुरीका यातायातका साधनहरु सञ्चालनमा आएका छन् ।

जोरविजोर प्रणालीको अन्त्यसँगै सडकमा सवारी जाम हुन थालेका छन् । कामकाजी मान्छेहरु सबै नियमित काममा फर्कन थालेका छन् । मनोरञ्जनका क्षेत्रहरु रिसोर्ट, रेष्टुराँ, केबुलकार, जीम हल क्रमशः खुल्दै गएका छन् । सरकारले औपचारिक रुपमा स्कूल, कलेज, सिनेमा हल जस्ता धेरै मानिस जमघट हुने स्थाल औपचारिक रुपमा खुला भएको घोषणा नगरे पनि ती क्षेत्रहरु स्वतः खुल्न थालेका छन् ।

अर्थतन्त्रको बारेमा छिटो सूचना पाउने क्षेत्र नेपालको सन्दर्भमा बैकिङ क्षेत्र हो । पछिल्लो समय बैंकहरुबाट जाने कर्जाको माग निकै बढ्न थालेको छ भने निक्षेपमा पनि वृद्धि देखिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार पुस लागेपछि दैनिक साढे २ अर्बको हाराहारीमा नयाँ कर्जा जान थालेको छ । यस्तै, दैनिक १ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । पुस ३ गतेदेखि १० गतेसम्म ७ दिनमा नै १७ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको छ । यही अवधिमा निक्षेप भने ७ अर्ब रुपैयाँले बढेको छ ।

एसोसिएसनका अनुसार पुस ३ गतेसम्ममा वाणिज्य बैंकहरुले ३१ खर्ब २३ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेका थिए । पुस १० गतेसम्ममा वाणिज्य बैंकहरुले गरेको कर्जा लगानी बढेर ३१ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ ।

एक सातामा वाणिज्य बैंकहरुमा निक्षेप संकलन भने ७ अर्ब रुपैयाँले बढेको छ । पुस ३ गते वाणिज्य बैंकहरुमा ३६ खर्ब १० अर्ब रुपैयाँ निक्षेप थियो । पुस १० गते यस्तो निक्षेप बढेर ३६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयरधितोमा जाने मार्जिन लेण्डिङ र घरजग्गा कारोबारमा जाने कर्जामा केही कडाई गरेको छ । राष्ट्र बैंकले गरेको नीतिगत कडाइका बाबजुत पनि कर्जा प्रवाह उत्साहजनक देखिनुका पछाडि अर्थतन्त्रका अन्य क्षेत्रहरु उद्योग, व्यापार तथा सेवा क्षेत्रले कर्जाको माग बढाउन थालेको देखिएको बैंकहरुको भनाइ छ ।

मंसिर अन्तिम साता पनि कर्जाको माग उत्साहजनक नै थियो । एसोसिएसनका अनुसार मंसिर २६ गतेदेखि पुस ३ गतेसम्मको अवधिमा कर्जा तथा लगानी २२ अर्ब रुपैयाँले बढेको थियो । मंसिर २६ गतेसम्ममा ३१ खर्ब १ अर्ब रुपैयाँ रहेको कर्जा पुस ३ गतेसम्ममा आइपुग्दा बढेर ३१ खर्ब २३ अर्ब रुपैयाँ पुगेको थियो ।

मंसिर अन्तिम साता बैंकहरुमा जम्मा हुने निक्षेपमा पनि उत्साहजनक बृद्धि भएको थियो । सो सात दिनको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २४ अर्ब रुपैयाँले बढेको थियो । मंसिर २६ गतेसम्ममा ३५ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा सो रकम बढेर पुस ३ गतेसम्ममा ३६ खर्ब १० अर्ब रुपैयाँ पुगेको थियो ।

बैंकिङ क्षेत्रमा मात्र होइन, अन्य क्षेत्रमा पनि सुधार देखिएको छ । बैदेशिक व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा निर्यात निर्यात १०.८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७७/७८ को चार महिनामा कुल वस्तु निर्यात रु.४० अर्ब २० करोड पुगेको छ । आयात भने १०.६ प्रतिशतले घटेको छ । बैदेशिक व्यापार घाटा कम गर्न यसले मद्दत गरेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.२ प्रतिशतले र अमेरिकी डलरमा ६.४ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.११० अर्ब ६५ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ६५ करोड अमेरिकी डलर रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार संघीय सरकारको खर्च रु.२५० अर्ब ४१ करोड र राजस्व परिचालन रु.२४० अर्ब १५ करोड छ । विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २१.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५ प्रतिशत र निजीक्षेत्र माथिको दावी ५.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २०.८ प्रतिशत र निजीक्षेत्र माथिको दावीको वृद्धिदर १२.३ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालमा कोभिडको असर कम गर्न सरकारले अत्यन्तै उदार नीति लिएको र अर्थतन्त्र चलायमान गर्न मौद्रिक नीतिले पनि धेरै सहयोग गरेको बताए । ‘हामी कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सफल भएका छौं । एकदमै मारमा परेका, निराश भएका उद्यमी तथा व्यापारीहरको मनोबललाई उकास्न काम गरिहेका छौं । राज्यले यस्तो असजिलो अवस्थामा लिएको ७ प्रतिशतको आर्थिक वृद्धिलाई हाम्रो तर्फबाट पनि सघाउन सकौं भन्ने उद्देश्यका साथ राष्ट्र बैंकले नीति लिएको छ’ उनले भने ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पछिल्लो समय वाणिज्य बैंकहरुमा कर्जा प्रवाह ह्वात्तै बढेको बताएका छन् । उनले गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आवको पहिलो ५ महिनामा कर्जा लगानीमा २० प्रतिशत बढीको वृद्धि भएको बताएका हुन् ।

‘कोभिड १९ को नकारात्मक प्रभावले गर्दा हामी सबै त्यसको असज स्थितिबाट ग्रजिरहेका छौं । अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भएता पनि केही क्षेत्र बाहेक अहिले अधिकांश क्षेत्रहरु सञ्चालनमा आएकोले आशाको सञ्चार भएको छ’ उनले भने ।

व्यवसाय पुनरुत्थानको लागि आवश्यक रकमको सहज उपलब्धता, कर्जाको कम व्याजदर, कर्जाको पुनर्तालिकीकरण र पुर्नसंरचनाको व्यवस्था आदिका कारणले पनि देशको अर्थतन्त्र चाडै पुनरुत्थान हुन सक्ने उनको भनाई छ । उनले बैकिङ क्षेत्रमा इमान्दारीपूर्वक काम गर्ने कर्मचारी पनि त्रासमा बाँच्नु परेको बताउँदै यस्तो अवस्था हटाउन माग गरेका छन् ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here