रायुजा संवाददाता
सुन्दरहरैचा । प्रथम पथरी शनिश्चरे प्रिमियर लिग २०७७ बाट २ लाख बढी रकम बचत भएको आयोजनाले जनाएको छ । आयोजक पथरी शनिश्चरे फुटबल प्रिमियर लिग कमिटीले सोमबार पथरीको सिन भिलेज पार्टी प्यालेसमा लिगको हिसाव सार्वजानिक गर्दै सो कुरा बताएको हो ।
आयोजकका अनुसार लिग सञ्चालनका लागि वैदेशिक रोजगारमा गएकाहरुबाट ३ लाख ९३ हजार ५ सय, स्थानीय संघ संस्था तथा व्यक्तिहरुबाट २ लाख ६८ हजार, ५ सय २५ रुपैयाँ, पथरीशनिश्चरे नगरपालिकाबाट रु. ४ लाख, ९२ हजार, ५ सय रुपैयाँ र मुख्य प्रायोजक तथा सह–प्रायोजकहरुबाट रु. ५ लाख ५० हजार रुपैयाँ गरी जम्मा १७ लाख ४ हजार ५ सय २५ रुपैयाँ संकलन भएको र १४ लाख, ८८ हजार ६ सय ७५ रुपैयाँ खर्च भई २ लाख १५ हजार ८ सय ५० रुपैयाँ बचत रहेको आयोजक कमिटीका कोषाध्यक्ष श्रीहाङ राईले जानकारी दिए ।
हिसाव सार्वजानिक कार्यक्रममा आयोजक कमिटीका संयोजक संजिव गिरीले पथरी शनिश्चरे प्रिमियर लिग आगामी दिनमा अझ परिस्कृत भएर आयोजना गरिने जानकारी दिए । उनले भने –‘हामी यो लिगलाई अझ मजबुतका साथ अघि बढाउनेछौं, कमिटीमा व्यक्ति परिवर्तन होला तर लिग अझ स्तरीय आयोजना गरिनेछ ।’ हिसाव सार्वजानिक कार्यक्रममा आयोजक कमिटीका साथ पथरीका शैक्षिक अभियन्त तथा हाम्रो फाउन्डेसनका अध्यक्ष प्रदिपकुमार राईको पनि उपस्थिति रहेको थियो ।

पुस ११ गते सम्पन्न सो लिगको फाइनल खेलमा द रियल ब्रदर्स फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै टेन नवोदय फुटबल क्लबले उपाधि कब्जा गरेको थियो । । खेलको ५८ औँ मिनेटमा टेन नवोदयका रोशन माझीले गरेको गोल नै निर्णायक बन्न पुग्दा द रियल ब्रदर्स उपविजेता बन्न पुगेको छ ।