रायुजा संवाददाता
इटहरी । लामो समयको कोभिड–१९ को प्रभावबाट लकडाउनको शिकार भएका इटहरीका व्यवसायीहरुले ग्राहक आकर्षित गर्ने लोभ्याउने आ–आफ्नै तरिका अपनाउन थालेका छन् । इटहरी बजार पूर्वको केन्द्रभागमा रहेको र यहाँको व्यवसायिक भविष्य उज्जवल देख्नेहरुको लगानी खासै प्रभावकारी आयमूलक हुन सकेको छैन । जसरी इटहरीलाई प्रचार गरिए पनि यहाँको बजार त्यति चलायमान हुन नसकेको व्यवसायीहरु नै बताउँछन् । अझै पनि कोरोनाको डर रहेको र लामो लकडाउनका लागि आम मानिसको आयस्रोतको बाटो टुटेको कारणले पनि बजार चलायमान हुन नसकेको उनीहरुको ठहर छ । ठूलो क्षति व्यहोरेको यो क्षेत्रको संरक्षणमा सरकारले कुनै ध्यान नदिए पछि अब ग्राहक तान्ने उपाय खोज्नु परेको उनीहरुको भनाई छ । साना तथा मझौला व्यापारी, व्यवसायीका लागि छुट्टै राहत प्याकेज ल्याएर संरक्षणका लागि सरकारले पहल गर्नुपर्ने उनीहरुको माग समेत रहेको छ । यद्यपि आफ्नो व्यवसायिक विकासको लागि अनेकन प्रकारका आकर्षण थपेर भए पनि दैनिकी चलाउनु पर्ने भन्दै इटहरीस्थित विशाल बजारलाई थप आकर्षण बनाएका छन् । जुन आकर्षणमा उनीहरुले राष्ट्रिय झण्डाको प्रयोग गरेको देखिन्छ ।
उक्त बजारमा आर्कषण बढाउन भन्दै राखिएका छाताले ग्राहकलाई अकर्षित गरेपछि उत्साहित हुँदै थप आकर्षणको लागि राष्ट्रिय झण्डा फहराईको व्यवसायी बताउँछन् । यो भन्दा पहिला राखिएको छाताले पनि ग्राहकको आकर्षण बढेको र अब झण्डाले त्यो आकर्षणलाई अझै बढाएर लैजाने व्यवसायीको भनाइ छ ।
कोरोना महामारीले पारेको प्रभावलाई भुलेर मनोरञ्जन सँगै किनबेचन गर्नका लागि उक्त झण्डाले सजाइएको उनीहरुको तर्क छ ।