रायुजा संवाददाता
इटहरी । १ नम्बर प्रदेशको केन्द्रभागमा रहेको इटहरी बजारमा पछिल्लो समयमा सुविधा सम्पन्न होटल खोल्ने क्रम बढेसँगै त्यसभित्रका विकृति, विसंगति न्युनिकरण तथा सेवा, सुविधा र मापदण्ड अनुरुप सञ्चालन गर्न र गराउनका निम्ती अनुगमन गरिएको छ । होटल सञ्चालनमा कुनै कमिकमजोरी छ या छैन भनेर जाँच्न आधार नै अनुगमन हो । अनुगमन टोलीले राम्रो, नराम्रो, गुण र दोषका आधारमा चार प्रकारका स्टिरकर लगाएर पुरस्कृत समेत गर्ने गरेको छ । सोही क्रम आइतबार र सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरूवा र इटहरी उपमहानगरको संयुक्त टोलिले २० वटा होटलहरू अनुगमन गरेको बताएको छ । टोलीले अनुगमन गरेका ति ठूला होटलहरुले उपलब्ध गराउने सेवा, सुविधा र सञ्चालन प्रविधि मापदण्डका आधारमा छन या छैनन भनेर हेर्ने र त्यसैको आधारमा चार प्रकारको स्टिकर दिएर पुरस्कृत गर्ने गरेको छ ।
अनुगमन गरिएका होटलहरुलाई अतिउत्तमलाई ‘क’ वर्ग, उत्तमलाई ‘ख’ वर्ग, सन्तोषजनकलाई ‘ग’ वर्ग र सामान्य तथा सुधार गर्नुपर्नेलाई ‘घ’ वर्गमा राखिएको र सोही बमोजिम अनुगमन गरिएका होटलहरुलाई स्टिकर प्रदान गरिएको इटहरी उपमहानगरपालिका राजस्व शाखा प्रमुख नविन भट्टराइले बताए । भट्टराईका अनुसार इटहरीका १४ वटा होटलको अवस्था सन्तोषजनक रहेको अनुगमनको निस्कर्ष रहेको छ । भट्टराईका अनुसार होटल ब्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीद्वारा सञ्चालित होटल इन्टुरिस्टले मात्र ‘क’ वर्गको अति उत्तमको हरियो ३ तारे स्टिकर प्राप्त गर्न सफल भएको छ । यसैगरी ‘ख’ वर्गको उत्तम अवस्थाका होटलको संख्या ८ रहेको छ । यो समूहमा पूर्वाञ्चल आइसकृिम पार्लर, ओखलढुंगे होटल, गोरखा होटल, गोरखा किचन, खनारस्थित रिलायन्स स्पिनिङ मिल्स भित्र सञ्चालित क्यान्टिङ, तरहराको लामा होटल, मझेरी होटल र लामा सेकुवा कर्नर परेका छन् । यिनीहरु सबैलै ‘ख’ वर्गको उत्तम हरियो २ तारे स्टिकर प्राप्त गरेका छ्न् ।
यसैगरी ‘ग’ वर्गको सन्तोष जनकका होटलमा ५ वटा परेका छन् भने ‘घ’ वर्गको स्टिकर भने कसैलाई दिइएको छैन तर कमीकमजोरी सुधार गर्न सजग बनाउँदै चेतावनी भने दिइएको छ ।
सुधारका लागि पत्र दिइएका होटलहरुमा न्यु पुर्वाञ्चल आइसकृिम पार्लर परेको छ । यस्तै तरहरा स्थित गुरूङ होटलमा बधशाला फोहोर रहेको भेटिएपछि त्यसलाई तत्काल सुधार गर्न अनुरोध गरिएको भए पनि उक्त होटलले सन्तोषजनककै हरियो २ तारे स्टिकर पाउन सफल भएको छ ।
खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरूवाका प्रमुख काशीनाथ घिमिरेले होटलहरूर्लाई प्रभावकारी र थप ब्यवस्थित बनाउनकै लागि इटहरीका सुविधा सम्पन्न होटलहरूको अनुगमन गरिएको बताए । तर अनुगमनका क्रममा यति ठूला कतिपय होटलहरुले पनि ब्यवसाय दर्ता गरेपनि नविकरण नगरेको अनुगमन टोलीले फेला पारेको छ । नविकरण नगरेका होटल व्यवसायीहरुलाई उपमहानगरमा उपस्थित भएर नविकरण गर्न सुझाव दिइएको छ ।
खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्टको स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम इटहरीका होटलहरुको अनुगमन गरिएको डिभिजन प्रमुख काशिनाथ घिमिरे बताउँछन् । घिमिरेले खाद्य स्वच्छताको आधारमा होटलहरुलाई चार वर्गमा विभाजन गरी अनुगमन गरिएको पनि बताए । यद्यपि अनुगमनले व्यवसायीलाई सजग बनाउने हुँदा बेला बेलामा यस्ता अनुगमन गरिरहन व्यवसायीहरुको सुझाव छ ।