दुई लाख मानिस उतार्ने योजना, प्रधानमन्त्री ओली बिहान ११ बजे श्री एयरको विमानबाट विराटनगर आउने, सुरक्षा व्यवस्था कडा, १० हजार मोटरसाइकल, ४० हजार ब्यानर र झण्डा प्रयोग

रायुजा संवाददाता
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज प्रदेश १ को राजधानी विराटनगरमा बृहत जनसभाको आयोजना गर्दैछ । नेकपाभित्रको बिग्रहपछि दाहाल–नेपाल पक्ष चरणवद्ध आन्दोलनमा छ भने केपी ओली पक्ष पनि देशभर जनसभामा जुटेको छ । मुलुकका विभिन्न स्थानमा वृहत् सभाको आयोजना गर्दै आएको सत्तासीन नेकपाले आज विराटनगरमा सभाको आयोजना गर्दैछ ।
नेकपा प्रदेश १ ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आजै विराटनगर जाँदैछन् । बताइएअनुसार प्रधानमन्त्रीका अलावा गृहमन्त्री रामबहादुर थापा, सुवास नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलगायतका नेताले विराटनगरमा हुने जनसभालाई सम्बोधन गर्नेछन् । उक्त कार्यक्रमलाई सफल बनाउन १ नम्बर प्रदेशभरिका स्थानीय तथा क्षेत्रीय समितिहरुले जनसभामा सहभागी हुन आमन्त्रण सहित प्रचारप्रसार गरिरहेका छन् ।

यसबीच शनिबार हुने प्रदेश १ स्तरीय आमसभा महानगरपालिका २ शंकरपुरस्थित खुला मैदानमा गरिने छ। आमसभाको लागि तयारी पूरा भएको आमसभा जनपरिचालन सचिवालयले जानकारी दिए।
जनपरिचालन सचिवालयका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे श्री एयरको विमानबाट विराटनगर पुग्ने छन्।
प्रधानमन्त्रीसँगै सभा सम्बोधनका लागि गृहमन्त्री रामबहादुर थापा र नेता सुवासचन्द्र नेम्वाङ पनि विराटनगर आउँदै छन्। जनपरिचालन सचिवालयले दिएको जानकारी अनुसार सभामा दुई लाख मानिस सहभागी हुने भएका छन् । जनसभामा उपस्थितिका लागि मुख्यतः मोरङ, सुनसरी, झापा र अन्य विभिन्न जिल्लामा १ हजार ५ सय सार्वजनिक बसको व्यवस्था गरिएको छ।स्रोतका अनुसार मोटरसाइकल मात्रै १० हजार आउने अनुमान छ । सो कार्यक्रमका लागि ४० हजारको संख्यामा ब्यानर र झ्ण्डा प्रयोगमा ल्याइएको छ।
प्रधानमन्त्री ओली विराटनगर आउने भएपछि सुरक्षा अवस्था कडा पारिएको छ।
शुक्रबारदेखि नै कार्यक्रमस्थल, विराटनगरका मुख्य चौकहरुमा नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानको टोली खटिएको छ। प्रधानमन्त्रीको आगमनलाई लिएर उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

यही फागुन १ गते नेकपाको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जनसभालाई पनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका थिए ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here