प्रजातन्त्रका सेनानी हेमराज कोइराला

11

नेपाली कांग्रेसका नेता स्वर्गीय हेमराज कोइराला जन्म वि.सं. १९८५ साउन ३ गतेका दिन कोशी अञ्चलको भोजपुर जिल्ला सदरमुकामको नजिकैमा पर्ने पोखरे गाउँमा पिता उद्ववप्रसाद तथा माता धनकुमारी कोइरालाको काहिँला छोराको रूपमा भएको थियो ।
उहाँका पिता मुखिया उद्ववप्रसाद कोइराला हक्की स्वभावका हुनुहुन्थ्यो । भोजपुर जिल्लाका प्रतिष्ठित व्यक्तिहरूमा उहाँको गणना हुन्थ्यो । उहाँकै ७ भाइ छोराहरू र दुईबहिनी छोरीमध्ये काहिँलो छोराको रूपमा हेमराज कोइरालाको जन्म भएको थियो । स्व. कोइरालाको शिक्षा कुलपरम्पराअनुसार प्रारम्भिक रूपमा आफ्नै घरमा शुरु भयो र स्थानीय प्राथमिक पाठशालामा चण्डी, रुद्री, वेदका साथै कोश, व्याकरण समेत अध्ययन शुरु भयो । केही समय भाषा पाठशालामा समेत पण्डित धु्रवलाल खतिवडा गुरुसँग अध्ययन गरेपश्चात् उच्च शिक्षाका लागि उहाँ काशी जानुभयो र संस्कृत साहित्यमा शास्त्री सम्मको अध्ययन पूरा गर्नुभयो । त्यसपछि घर आएर आफ्ना मातापितालाई भागवत श्रवण गराउनुभएको उहाँको इतिहास अध्ययन गर्दा ज्ञात हुन्छ । त्यसपछि हेमराज कोइराला धेरै समयसम्म राजधानी काठमाडौंमा बस्नुभयो, परिवर्तित राजनीतिक परिस्थितिमा उहाँ नेपाली काङ्ग्रेसको अनुयायी बन्नुभयो, पार्टीका नेताहरूले सुम्पेका कामहरू कुशलतापूर्वक इमान्दारीताका साथ पूरा गर्दै नेपाल सरकारको निजामति सेवामा पनि अधिकृत स्तरमा सेवा गर्नुभयो । वि.सं. २०१७ सालको राजनीतिक परिवर्तनलाई समर्थन गरेर व्यक्तिगत स्वार्थ साधना गर्न उहाँको विवेकले नदिएकाले अधिकृत स्तरको सरकारी सेवालाई त्याग गरी प्रजातन्त्रको पुनस्र्थापनाको आन्दोलनमा संलग्न हुँदै उहाँ देशबाहिर भारतमा प्रवासी जीवन बिताउन लाग्नुभयो ।
उहाँका माहिला दाजु गंगाप्रसाद कोइरालासमेत प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा संलग्न भई निर्वासित हुनुभएको हुँदा उहाँहरू दुवैको सर्वस्वरहण भयो । त्यसै बखत उहाँहरूका पिता मुखिया उद्ववप्रसाद कोइरालाको दुःखद निधन भयो । आफ्ना पिताको काजक्रिया गर्न समेत उहाँहरू स्वदेश आउन पाउनुभएन । वि।सं। २०२६ सालको आममाफीपछि स्वदेश फर्कनुभयो र त्यसपछि पनि प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा निरन्तर संलग्न भइरहनुभयो । पत्नी, एक छोरा र एक छोरीका पिता प्रजातन्त्र सेनानी हेमराजले आफ्नो परिवारको सेवाभन्दा प्रजातन्त्रको प्राप्ति र दीनहीन जनताको सेवामै आफूलाई निरन्तर समर्पित गराउनुभयो । उहाँकी पत्नी र छोराछोरीले कष्टकर जीवन बिताउनु प¥यो । उहाँले आममाफीपछि देशभित्र आएपछि पनि पटक–पटक जेलको जीवन बिताउनु प¥यो । प्रजातन्त्र प्राप्ति र जनताको हकहितका लागि, लागिरहनुभएका कोइरालाले वि.सं. २०३२ सालदेखि २०५७ भाद्र २६ गते (मृत्युपर्यन्त) सम्म निरन्तर नेपाली काङ्ग्रेस भोजपुरको जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
‘राजनीति व्यापार होइन, नाफा–घाटाभन्दा पनि सेवाभावले गरिने स्वस्फूर्त कर्म हो’ भन्ने भावना राख्ने कोइराला राजनीतिमा त्याग, तपस्या, आवश्यक परे बलिदानीसमेत दिन तयार भएर अगाडि बढ्नुपर्छ, सिद्धान्त, नीति र निष्ठा भन्दा अरु कुरा हुनै सक्दैन, निरन्तरता, लगनशिलता र अरुणनदी बगेजसरी निरन्तर प्रवाहवान मानिस मात्र राजनीतिमा टिक्न सक्छ भन्ने कुराको उदाहरणसमेत हुनुहुन्थ्यो । उहाँद्वारा प्रशिक्षित या भनौँ दीक्षित उमेशजंग रायमाझीदेखि यस पङ्क्तिकारसम्मको पुस्ता मात्रै नभएर स्वर्गीय चित्रबहादुर कार्की, ज्ञानेन्द्रबहादुर कार्की (पूर्वमन्त्री), स्वर्गीय निर्मल खत्री, गजेन्द्रबहादुर कार्की, नारायणबहादुर कार्की, स्वर्गीय भैरव चापागाई, स्वर्गीय तीर्थराज लम्साल, स्वर्गीय मित्र राईहरू पनि उहाँसँगै प्रशिक्षित भोजपुर जिल्लामा स्थापित नेतृत्व हुन् । माथि उल्लिखित सबैले उहाँको प्रत्येक्ष सान्निध्यता र अभिभावकीय ओत पाएरै जिल्लामा स्थापित राजनीतिक नेता बन्न सफल भएका हुन् भन्दा अत्युक्ति हुने छैन ।
शायद हेमराज कोइरालाको अभिभावकीय ओत या भनौँ, संरक्षण अझै धेरै छन् । उहाँसंगको सामिप्यका खास खास क्षणहरूलाई लेख्ने हो भने पनि भावी पुस्ताका लागि एउटा स्पष्ट प्रेरक मार्ग बन्दछ । चिरपरिचित सबैले बडो श्रद्धाका साथ ‘काइँला बा १’ अथवा ‘काँल्दाइ’ भनेर सम्बोधन गर्ने हेमराज कोइराला भोजपुरको मात्र नभई मुलुकका तमाम प्रजातन्त्र प्रेमीहरूका लागि त्यत्तिकै श्रद्धेय र प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो ।
भोजपुरको एउटा जिउँदो–जाग्दो प्रतीकका रूपमा आजीवन सङ्घर्षरत उहाँको व्यक्तित्वको अभावको अनुभूति विस्तारै मानिसहरूले गर्न थालेका छन् । बालकदेखि वृद्धसम्म जुनसुकै उमेरका मानिसहरूसँग अति चाँडो घुलमिल भइ आत्मीयता प्रदर्शन गर्न सक्ने उहाँको व्यक्तित्वको प्रमुख विशेषता थियो । राजनीतिमा पक्ष–विपक्ष हुन्छ नै तर उहाँ आफूले गर्दा हुने काम भेदभाव नराखी गरिदिनुहुन्थ्यो । उहाँको व्यक्तित्वको आकर्षक पक्ष यो पनि हो ।
चारतारे झण्डाका पछि लागेर सयौँ गोता र हण्डर खानु परे पनि चारताराको स्वाभिमानको रक्षा गर्दा पाउने सन्तोष नै उहाँका लागि सर्वोपरि थियो । जेल, नेल र निर्वासित जीवनका ती कष्टदायी त्रासदीपूर्ण क्षणमा पनि प्रजातान्त्रिक झण्डा उँचो राख्ने उहाँलाई प्रजातन्त्र आफ्नो सन्तानभन्दा पनि प्यारो थियो । काइँला ‘बा’ कसैको गमला वा बगैँचाको नभएर आफ्नै बलबुताले पहरामा फुलेको फूल हुनुहन्थ्यो । काँल्दाई भीरमा हुर्किएको रुख हुनुहुन्थ्यो । त्यसैले शायद उहाँ जीवनको अन्तिम क्षणसम्म पनि झरिलो भरिलो हुनुहुन्थ्यो । उहाँ कहिल्यै ओइलाउनुभएन । आफ्नो आदर्श र सिद्धान्तमा कहीँ, कतै सम्झौता गर्नुभएन, कहीँ कतै चुक्नुभएन ।
उहाँ चारतारामा बीपी देख्नुहुन्थ्यो, बीपीमा प्रजातान्त्रिक समाजवाद देख्नुहुन्थ्यो र प्रजातान्त्रिक समाजवादमा सबै नेपालीको एकमानाको बन्दोबस्तको सपना देख्नुहुन्थ्यो । निश्चय नै विपना उहाँका निम्ति विकृत र विकराल थियो तर सपना राम्रो देख्नुहुन्थ्यो । निराशा भन्ने उहाँमा कहिल्यै थिएन । उहाँ आशावादी र आफ्नो संकल्पमा सँधै पक्का हुनुहुन्थ्यो । उहाँको चारित्रिक र नैतिक स्वभाव उच्च थियो, स्वाभिमानी र साहसी पनि त्यत्तिकै, उहाँमा लोभलालच र मोह कुनै क्षणमा थिएन । उहाँ आफ्नो परिवार भन्दा पार्टीलाई धेरै माया गर्नुहुन्थ्यो, आफ्ना बारेमा भन्दा पार्टीका साथीहरूका बारेमा धेरै सोच्नुहुन्थ्यो । उहाँ नेपाली समाजकै एउटा होनहार, उदाहरणीय एवम् श्रद्धेय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ र उहाँजस्तै राजनेताहरूबाट सिकेर राजनीतिलाई सम्मानित र आदरणीय स्थानमा सँधै राखिरहन र जनताको सेवामा मात्र सञ्चालन पाए कति जाति हुन्थ्यो होला रु
वीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका युवा नेता श्याम कृष्ण लम्सालको सहयोगमा

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here