रायुजा न्युज डेक्स
विराटनगर । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप देशभर लगाईँदै गरेको अवस्थामा पनि नेपालमा अझै कोरोना संक्रमण देखा परिरहेको छ । अब त खोप आयो कोरोना भाग्यो भनेर ढुक्क भएका नेपालीका लागि धिमा गतिमा देखिएको कोरोना संक्रमणका समाचारले चिन्ता थप्ने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले पछिल्लो कोरोना अपडेटका रुपमा शनिबार दिएको तथ्याङ्क अनुसार ६० जनामा संक्रमण देखिएको छ भने निधन हुनेको संख्या ३ हजार १४ जना पुगेको बताएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समय २,३६२ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २,७५,१६८ पुगेको छ ।
त्यस्तै पछिल्लो समय कारोनाका कारण दुई जनाको निधन भएको छ । हालसम्म ३,०१४ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७२ जना छन् । यससँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २,७१,२४९ पुगेको छ ।
नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर ९१५ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४९ जना क्वारेन्टिनमा छन् भने अन्य आइसोलेसनमा छन् । हालसम्म नेपालमा २२ लाख १२ हजार ७९६ को पिसिआर परीक्षण भएको छ ।