आगामी हप्ता महामहिम राष्ट्रपति भण्डारीको बंगलादेशको राजकीय भ्रमण हुने

13

रायुजा संवाददाता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमण हुने भएको छ । । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिवसीय भ्रमणमा जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
राष्ट्रपति भण्डारीका साथ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधिकारी तथा सम्बन्धित मन्त्रालयका मन्त्री सहभागी हुने कार्यक्रम तय भएको उक्त विज्ञप्तिा उल्लेख छ ।
परराष्ट्र मन्त्रालयले जनाएअनुसार बङ्गलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बङ्गलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो ।
भ्रमणको अवसरमा राष्ट्रपतिले ‘नेपाल र बङ्गलादेशको सम्बन्ध र बङ्गलबन्धुको जन्म शताब्दी’ को बारेमा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीसँग बङ्गला भवनमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, समकक्षीबाट आयोजना हुने स्टेट ब्याक्वेटमा सहभागी हुने कार्यक्रम तय भएका छन् । यसैगरी भ्रमणका अवसरमा सावरस्थित राष्ट्रिय शहीद स्मारक र धनमण्डीमा रहेको बङ्गलबन्धुको स्मृति सङ्ग्रहालयको अवलोकन र नेपाली प्रतिनिधिमण्डलमा सहभागी सांस्कृतिक टोलीले ढाकामा प्रस्तुत गर्ने शताब्दी समारोह कार्यक्रमको अवलोकनमा सहभागी हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिको सम्मानमा नेपाली दूतावासमा आयोजना हुने दिवा भोजमा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी यही चैत १० गते स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ ।