इटहरीका निजी कलेजका विद्यार्थी शुल्कका विरुद्धमा स्वतस्फुर्त सडकमा, इटहरी उपमहानगरपालिकामा छलफल जारी

54

रायुजा संवाददाता
इटहरी । इटहरीका निजी कलेजहरुले विद्यार्थीको शैक्षिक क्यालेण्डर पुरा गरेको वहानामा पढ्दै नपढेको महिनाको शुल्क समेत लिन थालेपछि इटहरीका निजी कलेजका विद्यार्थीहरु आन्दोलनमा स्वतस्फुर्त उत्रिए । विद्यार्थीको नेता भएर हिंडेका विभिन्न दलका विद्यार्थी संगठनहरु चुपचाप बसिरहेको अवस्थामा विद्यार्थीको स्वतःस्फुर्त यो आन्दोलनले नयाँ शिक्षा दिएको छ । कलेजले शिक्षकहरुलाइ दिनुपर्ने तलब नै नदिएको सन्दर्भमा विद्यार्थीबाट अध्ययन नै नगरेको महिनाको शुल्क असुल्न खोज्न कति व्यवहारिक छ । आफ्ना हक र अधिकारका निम्ति अब कुनै पनि क्षेत्रका नेपाली नेताको मुख ताकेर बस्न सक्ने अवस्थाबाट बाहिर निस्केछन् । तथापि विद्यार्थीहरु सडक आन्दोलनमा उत्रिसकेपछि भने नैतिकताका आधारमा केही विद्यार्थी संगठनले भने समर्थन जनाएका छन् । विद्याको मन्दिरमा व्यापारको खेति हुनुहुँदैन । कमाउ धन्दा गर्नेहरुले विद्यालय होइन होटल वा अन्य आम्दानीमूलक व्यवसाय रोज्दा हुन्छ नत्र ८० प्रतिशत भन्दा बढी आर्थिक पहुँच कम भएका विद्यार्थीको भविष्यसँग खेलवार्ड गर्ने अधिकार स्कुल तथा कलेजहरुलाई छैन–आम्दोनलमा सहभागीहरु यसै भन्छन् ।
६ महिना पढाएर एक वर्षको शुल्क लिएको भन्दै केही दिन अगाडिबाटै कलेज केन्द्रीत आन्दोलनमा रहेका विद्यार्थीहरु आजदेखि सडकमा उत्रिएका हुन् । कोरोनाका कारण ढिलो गरी पढाइ सुरु भएपनि शैक्षिक संस्थाले भने वर्षभरीकै शुल्क मागेपछि विद्यार्थीहरुले आन्दोलन थालेका हुन्।
शुक्रबार पनि उनीहरुले इटहरीका सबै ठूला निजी क्याम्पसमा गएर नारा लगाउँदै प्रदर्शन गरेका छन्। ठूलो संख्यामा सडकमा उत्रिएका विद्यार्थीहरुले इटहरी चोक केही समय जामसमेत गरेका छन् भने इटहरी उपमहानगरपालिका कार्यालयसमेत घेराउ गर्न पुगेका छन् ।
पढेको महिनाभन्दा बढी समयको शुल्क नलिन माग गरेका विद्यार्थीको मागलाई वेवास्ता गरेको विश्व आदर्श कलेजलाई मात्र कोरोनाको असर परेको होइन हाम्रा अभिभावकलाई पनि परेको छ । अभिभावकको अवस्था चाहि नबुझ्ने अनि अभिभावकले कलेजको नपढेको महिनाको शुल्क ऋण काढेर तिरिदिनु पर्ने ? यसका विरुद्धमा आन्दोलन गरेका हौं– विश्व आदर्शका सविन दाहाल बताउँछन ।
यसैगरी कस्तुरी कलेज, कोशी कलेजलगायतका विद्यार्थीको गुनासो पनि त्यस्तै छ । उनीहरु भन्छन कलेजले नेपाल सरकार, स्थानीय तहको समेत आदेशको अवज्ञा गरेर जर्वजस्ती शुल्क उठाउने प्रयत्न गरेका छन् ।
त्यति मात्र होइन परिक्षामा केन्द्रीत हुनुपर्ने विद्यार्थीलाई शुल्कको भारी बोकाएर मानसिक यातना दिइएको समेत उनीहरुको भनाई छ ।
विद्यार्थीहरु गुनासो लिएर इटहरी उपमहानगरपालिकाको ढोका ढकढक्याउन पुगे । यद्यीप इटहरी उपमहानगरपालिकामा बिहीबारदेखि नै विद्यार्थीको गुनासोका सन्दर्भमा छलफल चलिरहे पनि सहमतिमा पुग्न सकेको छैन ।
स्वतःस्फुर्त रुपमा विद्यार्थी सडकमा उत्रिसकेपछि यहाँका मुख्य तीन विद्यार्थी संगठनहरुले विद्यार्थीका माग पुरा गर्न माग मात्र गरेनन् माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
इटहरीका निजी क्याम्पसहरुले पूरा शुल्क उठाउन खोजेपनि सो अवधिमा पढाएका शिक्षकहरुले भने पुरा तलब नदिएको गुनासो गरेका छन्। यता निजी क्याम्पसहरुले भने लकडाउनको समयदेखि नै आर्थिक संकट भोगिरहेकोले बाध्यता रहेको बताएका छन्।
क्याम्पसहरुको छाता संगठन हिसान सुनसरीले लकडाउनको समयमा भर्चुअल विधिबाट पढाएको र त्यस समयको समेत शिक्षक कर्मचारीको तलब दिएको भन्दै शुल्क लिन पाउनुपर्ने जिकिर गरेको छ। उसले विद्यार्थी आन्दोलनको कुनै औचित्य नभएको जनाएको छ।
हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरेले शैक्षिक क्यालेण्डर पूरा गरेकोले शुल्क उठाउन पाउनुपर्ने बताए। उनले कक्षा ११ को भर्ना शुल्क आधा छुट गरिएको जानकारी दिँदै अहिले विवाद भइरहेको कक्षा १२ को शुल्कमा पनि समिति बनाएर समाधान गर्न सकिने बताए। उनले सो विषयमा छलफल गर्ने बताएका छन्।