भ्रमण उपलब्धीमूलक र फलदायी भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भनाई

रायुजा संवाददाता
काठमाडौँ । राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीमा सरिक भई विभिन्न छलफल तथा सम्झौतामा हस्ताक्षर गरी राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्वदेश प्रस्थान गरेकी छन् ।
राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।
सोमबार बंगलादेशको भ्रमणमा निस्किएकी राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण फलदायी र उपलब्धीमूलक रहेको प्रतिक्रिया परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएका छन् । पत्रकार सम्मेलन मार्फत ज्ञवालीले भ्रमणले नेपाल तथा बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत पुगेको बताए ।
भ्रमणको पहिलो दिन राष्ट्रपति भण्डारीले बङ्गलादेशको सावरस्थित राष्ट्रिय शहीद स्मारकको भ्रमण गर्नु भई बङ्गलादेशका शहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको, सोही दिन राष्ट्रपति भण्डारीको समुपस्थितिमा बङ्गलादेशको ढाकाको नेशनल परेड ग्राउण्डमा बङ्गबन्धुको जन्म शतवार्षिकी कार्यक्रम भव्य समारोहबीच सम्पन्न भएको भ्रमण दलमा सहभागी मन्त्री ज्ञवालीले जानकारी गराए । सो समारोहमा बङ्गलादेशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू एवं विशिष्ठ व्यक्तित्व सहभागी रहेको समेत मन्त्री ज्ञवाली स्पष्ट पारे ।
राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपतिसँग ढाकामा सोमबार द्विपक्षीय वार्ता भएको र सो वार्ताको क्रममा उहाँहरूबीच नेपाल तथा बङ्गलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ एवं फलदायी बनाउने सन्दर्भमा द्विपक्षीय हितका सबै पक्षहरूमा छलफल एवं विचारको आदानप्रदान भएको मन्त्री ज्ञवालीले जानकारी दिए । साथै, दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुढृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवं फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको थियो ।
त्यस अतिरिक्त ऊर्जा व्यापारको लागि द्विपक्षीय सहकार्यलाई अघि बढाउने, द्विपक्षीय व्यापारको प्रवद्र्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बङ्गलादेशले नेपाललाई सरल एवं सहज ढङ्गबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटन लगायतका क्षेत्रको विकासको लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट उच्चतम उपयोग गर्ने जस्ता विषयमा छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।
भ्रमणका दौरान राष्ट्रपति भण्डारी तथा बङ्गलादेशका प्रधानमन्त्री महामहिम शेख हसिनाबीचको भेटघाटको अवसरमा नेपालको जलविद्युत् बङ्गलादेशमा निर्यात गर्ने, दुवै देशबीचको व्यापारमा वृद्धि एवं सन्तुलन कायम गर्ने, हवाई सेवाको विस्तार, रेलसेवा तथा सडकमार्गको सुधार गर्ने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताए । साथै, अन्तर्देशीय जलमार्गको सञ्चालन जस्ता सम्पर्क सञ्जालको विकास गर्ने, नेपालको लागि बङ्गलादेशबाट थप पारवाहनको सुविधा उपलब्ध गराउने, शिक्षा एवं कृषि क्षेत्रमा सहकार्य वृद्धि गर्ने तथा जलवायु परिवर्तन जस्ता समसामयिक र ज्वलन्त विषयमा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा एकापसमा सहयोग, अभिवृद्धि र सहकार्य गर्नेलगायतका विविध विषयहरूमा छलफल भएको थियो ।
भ्रमणका क्रममा बङ्गलादेशका परराष्ट्र मन्त्री डा ए.के. अब्दुल मोमेनले पनि सोमबार राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता भएको र सो समयमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको र भ्रमणको अवसरमा नेपाल र बङ्गलादेशबीच विभिन्न चार समझदारी पत्र (लेटर अफ एक्सचेन्ज)मा हस्ताक्षर भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।