वायु प्रदुषणको प्रभाव न्युन रहेको भन्दै विराटनगर महानगरपालिकाले विद्यालय सुचारु गर्ने निर्णय गरेको छ ।
विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले निर्देशन जारी गर्दै कोभिड १९ महामारीले लामो समय बन्द भएको विद्यालय भर्खरै खुलेको ले शैक्षिक गतिविधि नरोक्न सुचित गराएको छ । सो निर्देशन बमोजिम विराटनगरका विभिन्न विद्यालयले विद्यालय खुल्ला रहने सुचना सामाजिक संजाल र विद्यालयको सुचना माध्यमबाट जारी गरिरहेका छन् ।


रायुजा न्युज डेक्स
विराटनगर । गए राति आकाशबाट पानीका थोपाहरु फाट्टफुट्ट प¥र्यो । पानी आयो भनेर सबै खुशीका साथ स्वर गुन्जिए पनि पानी थोपामै सीमित रहन पुग्यो । उता शिक्षा मन्त्रालयले काठमाडौंलगायतका स्थानमा वायु प्रदुषण बढी देखिएको र देशभर यसको असर पर्न सक्ने भन्दै सबै विद्यालयहरु बन्द गरेको भए पनि कुनै कुनै स्थानीय निकायहरुले आफ्नो कार्यक्षेत्रभित्रका विद्यालय सुचारु गर्ने निर्णय गरेर खेलेका पनि छन् । काठमाडौंमा वायु प्रदुषणका मात्रा बढी देखिए पनि बहिर खासै त्यसको असर नपरेको अवस्थामा विद्यालय खोल्ला राख्दा हुने आम जनचासो पनि रहेको छ ।
यता जल तथा मौसम विभागले तीन दिनसम्म वायुमण्डल स्थिर अवस्थामा रहिरहने हुँदा तुवालोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार नहुने जनाएको छ ।
मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले जनाएको छ ।
हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो । देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा सोमबार जारी विज्ञप्तिमार्फत जनाएका छन् ।
खासगरी पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक रहेका सङ्घीय राजधानी काठमाडौंलगायतका शहरी क्षेत्रमा तुवाँलोको मात्रा अत्यधिक रहेको र फलस्वरुप वायुमण्डलको पारदर्शितामा उल्लेखनीय रूपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको छ विज्ञप्तिमा उल्लेख छ ।
तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।
आगामी दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुवाँलो अवस्था के कस्तो हुने हो भन्नेबारे डढेलोको अवस्थामा निर्भर रहने विभागको भनाइ छ । यस वर्ष नेपालमा पोष्ट–मनसुन सिजनमा अधिकांश स्थानमा सरदर भन्दा धेरै कम वर्षा भएको र गएको हिउँदमा पनि अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा भएको तथ्याङ्क छ ।
मनसुनपूर्वको आजसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा जलवायु प्रारूपहरुले मार्च, अप्रिल र मे महिनामा नेपालमा औसत तापक्रम सरदरभन्दा बढी हुनसक्ने सम्भावना ६० देखि ८० प्रतिशत रहेको तथा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४० देखि ६० प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ