रायुजा संवाददाता
इटहरी । सोसियल रिकन्स्ट्रक्सन फाउण्डेसनले नयाँ वर्षमा उत्साह थप्दै कोभिडको प्रभावबाट गतिशिल हुन नसकेको खेलकुद क्षेत्रलाई चलायमान गराउन अल नेपाल हाफ म्याराथन खेलकुद प्रतियोगिताको आयोजना गर्दैछ । सामाजिक क्षेत्रमा केही वर्षदेखि क्रियाशिल उक्त फाउण्डेशनले “स्वास्थ्यको लागि खेलकुद नेपालको लागि खेलकुद ” लाई आत्मसाथ गर्दै यहि वैशाख ११ गतेदेखि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष राम निरौलाले बताए । समाजका निम्ति कुनै न कुनै विधाका कार्यक्रमहरु गर्दै समाजमा छुट्टै पहिचान बनाउन सफल उक्त फाउण्डेशनले यस वर्ष वर्ष भने रनिङलाई रोजेको अध्यक्ष निरौलाले स्पष्ट पारे ।
फाउण्डेसनले प्रदेश १ कै सबै भन्दा ठुलो अल नेपाल हाफ म्याराथुन आयोजना गर्न लागेको हो । इटहरीमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिताको ब्याबस्थापनको जिम्मा कार्यक्रम संयोजक कैलाश रेग्मीले लिएका छन् । ।
प्रतियोगितामा सहभागी हुने इभेन्टमा महिला तथा पुरुषहरुका लागि २१ किलोमिटर दुरी कायम गरिएको छ भने महिलाका लागि अर्को छुट्टै १० किलोमिटर दुरी कायम गरेर प्रतियोगिता हुने संयोजक रेग्मीले बताएका छन् । वैशाख ६ सम्म दर्ता गर्न पाउने गरी प्रतिव्यक्ति ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको संयोजक रेग्मीले बताए । बैशाख ११ गते बिहान ७ बजे सुरु हुने प्रतियोगितामा महिला र पुरुषतर्फ खुल्ला प्रथम हुनेले नगद १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख तेस्रो हुनेले ५० हजार र सन्तोना पुरस्कार १० हजारसहित मेडल र प्रमाणपत्र राखिएको छ । त्यसै गरी १० किलोमिटर महिला तर्फ प्रथम हुनेलाई ३० हजार द्वितीय हुनेलाई २० हजार, तृतिय हुनेलाई १० हजार र सान्त्वना पुरस्कार ५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको भएको प्रतिष्ठानका अध्यक्ष निरौलाले बताए । दौडको रुट इटहरीबाट धरानको बिस्वकर्मा मन्दिर खुल्लासम्मको रहेको छ भने महिला तर्फ इटहरीबाट पहिलो टयानकी हुदै पुनः इटहरीको आप्गछी सम्म आएर सम्पन्न हुने छ।