रायुजा न्युज डेक्स
विराटनगर । प्रहरी प्रधान कार्यालयले पछिल्लो ८ महिनामा आपराधिक घटना बृद्धि भएको तथ्याङ्क प्रस्तुत गरेकोछ ।
आधिकारिक निकायबाट सार्वजनिक भएका यस्ता तथ्याङ्क र समाजमा बढ्दै गएका घटनाहरुले पछिल्लो समय मुलुकको शान्ति सुरक्षामा चुनौती बढेको देखिन्छ । एकपछि अर्को गर्दै हत्या, हिंसा, बलात्कार, अपहरण, लागुऔषध, मानव बेचबिखन, चोरी, बैंकिङ कसुर, साइबर अपराधका घटना बढेर गएका छन् । समाजलाई नै आतंकित बनाउने खालका घटना बढोत्तरी हुँदै जानु सर्वसाधारणका लागि चिन्ताको विषय बनेको भए पनि सरकार भने उदासिन देखिन्छ । देशलाई कोरोनाबाट जोगाउन लगडाउन गरिएको बेला देखि नै सत्ताधारी दलभित्रको आन्तरिक विवादको शृंखला अहिलेसम्म नरोकिएका कारणले पनि यस्ता घटनामा सरकारले ध्यान पु¥याउन नसकिहेको अवस्था छ । मुद्दा, फैसला र त्यसको प्रभावबाट समेटिन सत्ताधारी दललाई निकै हम्मे हम्मे परेको अवस्थामा भईरहेका यस्ता आपराधिक घटना सामान्य बनेका छन् ।
एकै प्रकृतिका आपराधिक घटना श्रृंखलाबद्धरुपमा दोहोरिँदै जाँदा पनि गृह प्रशासनले सुरक्षा संवेदनशीलता अपनाउन नसकनु विडम्बना नै भएको छ ।
खासगरी बालिका तथा किशोरीमाथि देशभर भइरहेका जघन्य बलात्कार, सामूहिक बलात्कार तथा बलात्कारपश्चात् हत्याका कहालीलाग्दा दृश्यले मुलुकलाई नै गम्भीर मोडमा पु¥याएको छ ।
नेपाल विश्वमै सुरक्षित गन्तव्य मानिए पनि मुलुकको खस्किँदो शान्ति सुरक्षाको स्थितिले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक असर पर्ने सम्भावना उत्तिकै छ ।
गृह प्रशासनले आफ्नो संयन्त्रलाई राम्रोसँग परिचालन गर्न र समन्वयको अभावलाई चिर्न नसक्दा सरकारप्रति नकारात्मक भावना बढेर गएको छ । गृह मन्त्रालयले आपराधिक घटनाका विषयमा सुरक्षा संवेदनशीलता देखाउन सक्नुपर्छ । बलात्कार र हत्या–हिंसाको विरूद्धमा नागरिकले सडकमा दिनहुँ प्रदर्शन गरिरहेका छन् । त्यस्ता आन्दोलन आपराधिक घटनासँग जोडिएका कुनै पनि विरोध कार्यक्रम हुन नदिनु भनेको शान्तिसुरक्षामा सुधार हुनु हो भन्ने हेक्का साथ गृहमन्त्रलाय अगाडि बढ्नु जरुरी देखिन्छ ।
सरकारले यसलाई आफूविरूद्धको विरोधका रुपमा मात्रै लिनु गल्ती हुनेछ । निर्दोषहरु त्रसित हुनुपर्ने र अपराधीले उन्मुक्ति पाउने अवस्था आयो भने न्यायपूर्ण समाजको कल्पना गर्न सकिँदैन । सरकारको पछिल्लो रवैया हेर्दा झिनामसिना कुरामा भूमिका बढाउने तर मुलुकको शान्ति सुरक्षाप्रति गम्भीर नहुने प्रवृत्ति देखिन्छ ।
प्रहरी कार्यालयमा दर्ता भएको जाहेरीका आधारमा गत आर्थिक वर्षको सुरुको ८ महिनाको तुलनामा यो वर्ष व्यक्ति हत्या, आत्महत्या,बलात्कारका घटना बढेको देखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म चार सय ४७ वटा व्यक्ति हत्याका घटनाहरु भएका छन्। यसैगरि आत्महत्याका ४ हजार ४ सय ८३ वटा घटना र बलात्कारका १ हजार ६ सय ५३ छन्। व्यक्ति हत्या २१.१३, बलात्कार १५.६७ र आत्महत्याका घटना २६.८५ प्रतिशतले बढेको हो।
अपहरणका ६३, लागु औषधका १ हजार ९ सय ८३, मानव बेचबिखन तथा ओसारपसारका ६५, चोरीका १ हजार पाँच सय ६९, बैङ्किङ कसुरका १ हजार ६ सय ८८ र साइबर अपराधका ३० वटा घटना भएका छन्। प्रहरीले बलात्कारका घटनामा ११.२१ प्रतिशत आफन्त संलग्न रहेको दावी गरेको छ। चिनजान तथा आफन्त संलग्न रहेको प्रतिशत करिब ८२ रहेको छ।
चालु वर्षको फागुनसम्म विभिन्न कसुरमा गरि २६ हजार ३ सय ६ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो वर्षको यो अवधिको तुलनामा १६.१६ प्रतिशतले मुद्धा बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
फरार पक्राउ १३८ प्रतिशतले बढ्यो
प्रहरी प्रधान कार्यालयले अघिल्लो आर्थिक वर्षको सुरुको ८ महिनाको तुलनामा फरार पक्राउ एक सय ३८ प्रतिशतले बढेको जनाएको छ। चालु वर्षको फागुनसम्म ४ हजार ७ सय ५ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकाको संख्या १३८.२२ प्रतिशतले ब‍ढेको हो।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here