रायुजा न्युज डेक्स
विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिकामा केही हप्ता अगाडि भएको आगलागीका पीडितलाई प्रदेश सरकारले राहत (नगद तथा जिन्सी) उपलब्ध गराएको छ । चैत्र १२ गते वडा नं. ८ स्थित पात्लेपानीको खुकेला सामुदायिक वनमा लागेको डढेलो सल्किँदै बस्तिमा पसेपछि ४ घर जलेर पूर्ण रुपमा क्षति भएको थियो । सोही बस्तिमा पुगेर १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रति घर परिवारलाई ५० हजार नगद र बस्ने टेण्ट, कपडा र आवश्यक खाद्यान्न सामग्री आइतबार वितरण गरेका छन् । उक्त आगलागीबाट उक्त वडाका सुदन राई, कञ्चन राई, भिमबहादुर राई र अर्जुन राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
यसैगरी सोही दिन पीडित परिवारलाई समाजसेवी जीवन खाहोङ राई, हिन्दुहाङ राई नेतृत्वको टोलीले उपलब्ध गराएको कर्कटपाता समेत मुख्यमन्त्री राईले हस्तान्तरण गरेका छन् । मुख्यमन्त्री राईले उक्त आगलागी भएकै अवस्थामा जाने हुटहुटी भए पनि नसकेको भन्दै घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाका पीडितहरुलाई सहयोग पु¥याउने सबैलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् ।
यसअघि
भोजपुरका संघीय सांसद सुदन किराँतीले पनि विहिवार आगलागी पीडितको परिवारलाई राहत वितरण गरेका छन् । सांसद किरातीले माओबादी केन्द्र भोजपुरकी नेतृ सुनिता किराती र वडाध्यक्ष प्रविन राई मार्फत आगलागी पिडित परिवारलाई २ सय ४० केजी चामल, दाल लगायतका खाद्यान्न सामाग्री उपलब्ध गराएका छन् । किरातीले आगलागीबाट घरबार विहिन बनेका चारै जनाको घर निर्माणमा समेत सहयोग गर्ने बताएका छन् ।