इटहरी । आधुनिक कृषि उद्यमशिलताका लागि इटहरी उपमहानगरपालिकाले कृषक तथा कृषि समूहलाई पावर टिलर वितरण गरेको छ ।
तीन वटा कृषि सहकारी संस्था र छ वटा उत्कृष्ठ कृषि फम संचालन गरेका कृषकहरुलाई उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले पावरटिलर हस्तान्तरण गरेका छन् ।
उक्त पावर टिलर उपमहानगरको ७५ प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको हो । तीन वटा कृषि सहकारी संस्थालाई रिपर हेड सहितको पावर टिलर वितरण गरिएको हो । सो पावर टिलर जोत्नका साथै धान गहुँ काटन समेत प्रयोग गर्न सकिने प्रकारको रहेको उपमेयर लक्ष्मी गौतमले बताईन् । अनुदानमा उक्त पावर टिलर पाउने सहकारीहरुमा सिद्धार्थ कृषि सहकारी इटहरी १२, सनेस कृषि सहकारी इटहरी १८ र अग्रणी कृषि सहकारी इटहरी १४ ले रिपरहेड सहितको पावर टिलर प्राप्त गर्न सफल भएका छन् । यसैगरी उत्कृष्ठ ठहरिएका कृषि फर्म संचालक लाल वहादुर श्रेष्ठ इटहरी १८, अनुराधा कुमारी राउत इटहरी १७, विक्रम कुमार चौधरी इटहरी १४, खेमराज पोखरेल इटहरी १, पुरनलाल चौधरी इटहरी १५ र गंगा ध्वज राई इटहरी ३ ले उक्त सुविधाको पावर टिलर हात पार्न सफल भएका छन् ।