रायुजा न्युज डेक्स
विराटनर । सरकारले कोरोना संक्रमणको जोखिम पुनः बढ्न थालेपछि स्वास्थ्य मापदण्डका सबै उपायहरु अबिलम्ब लागू गर्न अनुरोध गरेको छ। पछिल्लो २४ घण्टाको कोरोनाको अवस्था सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रलायका प्रवक्ता जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।
डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यसैगरी निधन हुनेको संख्यमा ५ जना थपिएका छन् । सोमबार मात्रै कोरोनाबाट १३ जनाको निधन भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा ५२ सय ३ स्वाब नमूनाको पीसीआर परीक्षण गराउँदा ५ सय १७ जनामा कोरोना भाइरस पुष्टि भएको प्रवक्ता गौतमले बताए । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा १५३ जना कोरोनाबाट मु्क्त भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ। मन्त्रालयका अनुसार ३ हजार ६०८ जना कोरोनाका सक्रिय संक्रमित छन्। हाल ८५ जना क्वारेन्टाइनमा र ३६ सय८ जना आइसोलेसनमा छन्।
पछिल्लो समय नेपालमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ। केही महिनाअघि बिरामीविहीन बनेको कोभिड १९ अस्पतालमा कोरोना भाइसका बिरामी भर्ना हुन थालेका छन् । भारतमा देखिएको दोस्रो चरणको संक्रमण बढेसँगै नेपालमा विभिन्न जिल्लामाका कोभिड १९ अस्पतालमा भर्ना हुनेको संख्या पनि दिनादिन बढ्दै गएको हो ।