रायुजा डेक्स न्युज
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास निर्माणमा वैदेशिक लगानी प्रोत्साहित गर्न विश्वरभरका गैरआवासीय नेपाली देशभित्र लगानी गर्न आग्रह गरेका छन् ।
नयाा वर्षको पावन अवसरमा आयोजित जुम सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपालमा शान्तिपूर्ण र अनुकूल व्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैँले समेत नेपालमै लगानी गर्न विश्वरभरका गैरआवासीय नेपालीलाई आग्रह गरेका हुन् ।
ठूला आयोजनाका लागि संयुक्त लगानी नेपालमा नै गर्नु उपयोगी हुने सन्देश विदेशीसम्म पुऱ्याउनसमेत प्रधानमन्त्रीले आग्रह गरे । ‘नेपालमा मजदूर र रोजगारदाता मिलेर समस्या सम्बोधन गरिन्छ, हडताल हुने अवस्था छैन भन्ने सन्देश आफू रहेको देशका लगानीकर्तालाई पु¥याइइ दिन प्रधानमन्त्री ओलीको आग्रह थियो ।
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीले राजनीतिक अधिकारबाहेक सबै हक अधिकार समान ढङ्गले पाउनेसमेत बताए । ‘तपाईहरुले विदेशको नागरिकता लिनुभएको छैन भने स्वदेशमा राजनीतिक अधिकारसमेत पाइन्छ’, भन्दै आफू बसेको देश वा जन्मभूमि नेपालमध्ये कहाँको नागरिकता लिने भन्नेमा छनोट गर्ने अधिकार सम्बन्धित व्यक्तिकै रहेको धारणा समेत राखे ।
प्रधानमन्त्री ओलीले नेपाली जनता देशभित्र वा बाहिर जहाँ भए पनि सरकारले फरक भावनाले नहेर्ने स्पष्ट पारे । ‘वर्तमान सरकार नेपाली डायस्पोराप्रति अत्यन्त प्रेमभाव र सहयोगी भाव राख्दछ तथा नेपाली हुनुको गौरव कायम रहोस् भन्ने चाहन्छ’, प्रधानमन्त्री ओलीले सम्बोधन भनेका छन् ।
भर्चुअल कार्यक्रममा नेपालबाट प्रधानमन्त्री ओलीसँगै उहाँका परराष्ट्र मामिलाविज्ञ डा राजन भट्टराई, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष भक्त गुरुङ, नेपालका लागि विभिन्न देशमा कार्यरत राजदूत, गैरआवासीय नेपाल सङ्घका पदाधिकारी सहभागी थिए ।