रायुजा न्युज डेक्स
विराटनगर । नवरात्र मध्ये दोस्रो ठूलो पर्वका रुपमा चैते नवरात्रलाई मान्ने गरिन्छ । बडा दशैंको जस्तो घरघरमा बलि दिएर मनाउने प्रचलन नभए पनि सबै घरमा देवीको आराधनासहित मिष्ठान्न भोजन खाएर यो पर्व मनाउने प्रचलन छ यद्यपि हनुमानढोकामा बलिसहित पूजा आराधना गर्ने प्रचलन रहि आएको छ ।
हनुमानढोकाको दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन पनि बलिसहित पूजा गरिन्छ । पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने कामनाले बलि दिइन्छ । यस वर्ष पनि मङ्गलबार बिहान पूजा आराधना गरी ५४ बोका र ५४ राँगाको बलि दिने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । बडा दशैँमा भने १०८ बोका र १०८ राँगाको बलि दिई पूजा हुन्छ ।
चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।
विगत वर्षमा चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले पाँच जनाभन्दा बढी उपस्थित नहुन आदेश जारी गरेकाले दूरी कायम गरेर दर्शनको व्यवस्था गरिने जनाइएको छ । मन्दिर जान नसक्नेले घरबाटै मानसिक रूपमा दर्शन गर्न सकिने धर्मशास्त्रविद्एहरु बताएका छन् । ‘वेदमा ‘सर्वतः आत्मानम्ं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले आफ्नो शरीरको रक्षा गर भन्ने वचन रहेकाले महामारीको सङ्क्रमणबाट बच्न घरमै पूजा आराधनाका काम गर्न सकिन्छ ।
बडादशैँ जस्तै चैते दशैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । नवदुर्गा देवी माताका विभिन्न स्वरुपाका देशभरका शक्तिपिठहरुमा चैते दशैँका अवसरमा विशेष पूजा हुन्छ ।