रायुजा न्युज डेक्स
विराटनगर । कोरोना भाइरस संक्रमणको त्रासका बाबजुद आयोजित खेलकुदहरुमा नेपालले एक पछि अर्को सफलता हात पार्दै आएका छन् । ३७ वर्षपछि अर्थात सन् १९८४ यता नेपालले घरेलु मैदानमा आयोजित थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा बंगलादेशलाई फाइनलमा हराएर स्वर्ण पदक जितेको एक महिना पनि नहुँदै फेरी नेपाली खेलाडीले क्रिकेटमा पनि घरेलु मैदानमै अन्तर्राष्ट्रिय सफलता हात पारेका छन् ।
शनिबार किर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि पनि नेपालले जितेको छ । सो फाइनल प्रतियोगतामा नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि उचालेको हो।
नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनाएको थियो। टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो।
नेपालका कुशल भुर्तेल र कुशल मल्लले अर्धशतक बनाए। ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्काको मद्दतमा ७७ रन बनाए भने मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतमा ५० रन बनाए।
यस्तै दिपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गर्दै १८ बलमा ४८ रन बनाए। उनले ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान ज्ञानेन्द्र मल्लले तीन चौका र २ छक्काको मद्दतमा ३३ र आशिफ शेखले एक चौका र २ छक्कासहित १६ जोडे। बलिङतर्फ नेदरल्याण्ड्सका फिलिप बोइसेभिएनले दुई र सेबास्टिएन ब्राटले एक विकेट लिए।
२३९ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो। उसका लागि सेबास्टिएन ब्राटले २६, म्याक्स् ओ’डोडले २२ र कप्तान पिटर सिलारले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका लागि बलिङतर्फ करन केसीले तीन, सन्दीप लामिछाने र कमलसिंह ऐरीले दुई–दुई तथा अविनाश बोहराले एक विकेट लिए। टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो सबैभन्दा फराकिलो जित हो। यसअघि नेपालले भुटानलाई १४१ रनले हराएको थियो। सिरिजमा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्