रायुजा न्युज डेक्स
विराटनगर । पहाडी जिल्लामा २ सय र तराईमा ५ सय संक्रमित पुगेको खण्डमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाउन पाउने अधिकार कार्यान्वयन हुन थालेको छ । मोरङ, काठमाडौंलगायत अन्य केही जिल्लामा निषेधाज्ञा लगाउने तयारी भइरहेको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, कटहरी र उर्लाबारीमा २–२ र धनपालथान र लेटाङमा १–१, सुनसरीको इनरुवामा ६, इटहरीमा ४, बराहक्षेत्र, हरिनगर, दुहवी, रामधुनी र धरानमा १–१, झापाको दमकमा ४, भद्रपुरमा १, संखुवासभाको खाँदबारीमा ३ र स्थानीय तह नखुलेको १, धनकुटाको चौवीसे, खोटाङको खोटेहाङ, इलामको इलाम, पाँचथरको मिक्लाजुङ र ताप्लेजुङको फुङलिङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १ हजार १० जना सक्रिय संक्रमित छन् । प्रदेश १ मा आज ४४१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो अवस्था सबै प्रदेशमा देखिन थालेपछि कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निषेधाज्ञाको मापदण्ड निर्धारण गरेको हो ।
सीसीएमसीले निशेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको छ भने यो निर्णयसँगै काठमाडौं लगायतका ९ जिल्लामा तत्काल निषेधाज्ञा लागू हुने सम्भावना बढेको छ । अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय कटिसकेको छ।
त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि संक्रमितको संख्या बढ्दै गएकोले निषेधाज्ञाको तयारी गरिँदैछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्