रायुजा न्युज डेक्स
विराटनगर । भारतीय सीमानामा रहेका ३५ वटा नाकामध्ये १३ वटा नाका मात्र खुल्ला गर्ने भएको छ । क्वारेन्टिनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगमनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी मात्र खुल्ला हुने निर्णय गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको छ । सो निर्णय बमोजिम २२ वटा नाका पूर्ण रुपमा बन्द हुने भएका छन् ।
सो बैठकले गरेका अन्य निर्णयहरुमा संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषद्‌मा सिफारिस पनि गरेको छ। यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ।
यदि निर्माण कार्य सुचारु गर्ने भए कामदार कर्मचारीहरुलाई निमार्ण स्थलमा नै राख्नु पर्नेछ। उद्योगहरु सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ।
यसैगरी निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय उक्त बैठकले गरेको छ । विदेशबाट नेपाल आएका विदेशीलाई क्वारेन्टिन बस्न अनिवार्य गर्ने र नमाने डिपोर्ट गर्ने पनि निर्णयगरेको छ। क्वारेन्टिनको रुपमा रहेका होटलहरुलाई थप व्यवस्थित गर्ने पनि बैठकको निर्णय छ।

देशसञ्चारको सहयोगमा

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्