रायुजा न्युज डेक्स
विराटनगर । प्रदेश १ को तीन वटा जिल्ला मोरङ, सुनसरी झापाबाट २ सय २९सहित प्रदेशभरमा २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ९१, सुनसरीमा ६८ र झापामा ७० गरी २ सय २९ जनासहित इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा भोजपुरमा समान १ र प्रदेश बाहिरका २० जना गरी २ सय ६६ जना प्रदेश १ मा कोरोना संक्रमित थपिएका हुन् । शनिबार प्रदेशका विभिन्न स्थानमा गरिएको ७ सय २५ जनाको पीसीआर परीक्षणका क्रममा १ सय २२ महिला र १ सय ४४ जना पुरुष संक्रमित थप भएका हुन् । मन्त्रालयका अनुसार शनिबार ७ महिला र १५ पुरुष गरी कुल २२ जना संक्रमित निको भएर घर फर्केका छन भने ज्यान गुमाउनेको संख्या ३ रहेको छ ।
मोरङको विराटनगरबाट ३८ महिला र ४३ पुरुषसहित ८१ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी, बूढीगंगाबाट ३, जहदा र पथरीशनिश्चरेमा समान २, बेलबारी, सुन्दरहरैंचा र ठेगाना नखुलेकोमा समान १ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सुनसरीको धरानबाट ३५, इटहरीबाट २१, बराहक्षेत्र र इनरुवाबाट समान ४, रामधुनीबाट २, बर्जुबाट १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
यस्तै झापाको भद्रपुरबाट २४, विर्तामोडबाट ११, अर्जुनधाराबाट ८, मेचीनगर र कनकाईबाट समान ७, गौरादहबाट ४, बुद्धशान्तिबाट ३, गौरीगञ्ज र शिवसताक्षीबाट समान १ जनाबाट गरी ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, पहाडी क्षेत्रतर्फ इलामको रोङबाट ६, उदयपुरबाट ५, धनकुटाबाट ४, भोजपुरबाट ठेगाना नखुलेको १, संखुवासभाबाट १ र प्रदेश १ बाहिरका जिल्लाबाट २० जनामा संक्रमण पुष्टि भएको छ।
यससँगै प्रदेशमा हालसम्म ३२ हजार ९ सय १७ जनामा संक्रमण देखिएको छ। जसमध्ये ३० हजार ४० जना संक्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ८२ रहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्