रायुजा न्युज डेक्स
विराटनगर । विगतमा अनियमित देखिए पनि २०१८ देखि हरेक १० वर्षमा हुँदै आएको जनगणना २०७८ सुरु हुनु एक महिना बाँकी छँदै कोरोनाको कारण देखाएर स्थगित गरिएको छ । राज्यले ठूलो धनराशी खर्च गरिसकेको उक्त जनगणना आगामी जेठ २५ देखि असार ८ भित्र सक्ने कार्यक्रम तय भएको थियो । केन्द्रीय तथ्यांक विभाग, योजना आयोग र अन्य निकायसँगको छलफल र सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई जनगणना स्थगित गर्ने निर्णय गरेको हो ।

२०७८ वैशाख २० गते सोमबार युवा जागरण डटनेट अनलाईनमा प्रकाशित १२ औं राष्ट्रिय जनगणना स्थगित सम्बन्धी समाचारमा २०७८ हुनुपर्नेमा अन्यथा भएकोले पाठक वर्गमा पर्न गएको असहज र दुविधाका लागि क्षमाप्राथी हुँदै सच्याईएको छ ।


सहज हुनेबित्तिकै ०७८ सालभित्रै जगनणना गर्ने विभागको तयारी चाहि यथावत रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका अनुसार जनगणनाका सम्पूर्ण काम सम्पन्न भइसकेका छन् । ‘तालिम दिएर घरघरमा खटाउने काम मात्र थियो, तर अहिले असहज अवस्थाले गर्दा रोक्नुपर्ने भयो । नागरिकको जिउज्यान र स्वास्थ्यभन्दा अन्य विषय ठूलो नभएकाले पनि त्यसैलाई ध्यानमा राखेर स्थगित गर्नुपरेको विभागका महानिर्देशक नेवनलाल श्रेष्ठले बताए ।
२०६८ सालसम्म ११ वटा जनगणना भईसकेका छन् । देश संघीयतामा गएपछिको यो नै पहिलो जनगणना हो । यसकारण पनि अत्यन्त महत्वपूर्ण रहेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक श्रेष्ठले बताए । जनगणनाको तयारी दुई वर्षदेखि चलिरहेको थियो । अहिले जनगणना गरी ०७९ सालसम्ममा मुख्य प्रतिवेदन प्रकाशित गर्ने र ०८० सालभित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन पनि प्रकाशित गर्ने केन्द्रीय तथ्यांक विभागको तयारी थियो ।
पछिल्लो ६० वर्षमा पहिलोपटक जनगणना रोकिएको पनि महानिर्देशक श्रेष्ठले बताए । सबैभन्दा पछि २००८ सालमा हुनुपर्ने जनगणना २००९ साल र २०११ सालमा दुई चरणमा भएको थियो । त्यसपछि ०१८ सालदेखि हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । २००७ सालको राजनीतिक परिवर्तनले गर्दा २००८ सालमा जनगणना हुन सकेको थिएन । त्यसअघि आवधिक रूपमा हुँदै आएको जनगणना अनियमित (नौ वा ११ वर्षमा) हुने भए पनि स्थगित भने नभएको विभागका अधिकारीहरूको भनाइ छ । – नयाँ पत्रिकाको सहयोगमा

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्