काठमाडौं । कोरोना संक्रमण तिव्र गतिमा बढ्दै गएपछि ज्यान जानेको संख्या पनि ह्वात्ते बढेको छ । उपत्यकामा कोरोना संक्रमणको अवस्था अझै भयावह बनेको छ । उपत्यकामामा ज्यान गुमाएका शव व्यवस्थापनमा समेत कठिनाई आएपछि बागमतिको किनारमै दाहसंस्कार गर्न सुरु गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले भष्मेश्वर घाटमा पाँचवटा ओदान थप्ने भएको छ । केही दिनभित्रै थपिने ओदान विद्युतीय शव दहनगृहको पछाडि बागमती नदी किनारमा बनाइनेछन् ।
कोषका अनुसार विद्युतीय शव दहनगृहमा अरू वेला दैनिक बढीमा १५ वटासम्म शव आउँथे । आइतबार यो संख्या ३१ पुगेको थियो । सोमबार शवको चाप झन् बढेपछि विद्युतीय शव दहनगृहले धानेन । त्यसपछि बागमती किनारमा अस्थायी ओदान बनाएर अन्त्येष्टि गरिएको थियो । सोमबार विद्युतीय शव दहनगृहले चाप धान्न सकेन ।
कोरोनाबाट मृत्यु भएकाको शव सेनाले व्यवस्थापन गर्दै आएको छ । उपत्यकाभित्र मृत्यु भएका सबै शव पशुपतिस्थित विद्युतीय शव दहनगृहमा ल्याउने गरिन्छ । सेनाका अनुसार शुक्रबार २६ शव दहन गरिएका थिए । शनिबार यो संख्या बढेर ३१ पुग्यो । आइतबार पनि ३१ शव दहन गरिए । सोमबार साँझसम्म ३६ को अन्त्येष्टि गरिएको छ । राति १२ बजेसम्म यो संख्या अझ बढ्न सक्ने सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । ‘पछिल्ला दिनमा शवको चाप बढेको छ । सोमबार साँझसम्म सेनाले ३६ शव दहन गरेको छ ।
सेनाका अनुसार एक वर्षमा संक्रमणबाट मृत्यु भएका तीन हजार पाँच सय ३८ शव सेनाले दहन गरेको छ । काठमाडौं उपत्यकाभित्र मात्रै एक हजार सात सय ६४ वटा शव दहन गरिएका छन् ।
सेनाको तथ्यांकअनुसार उपत्यकामा गत वर्षको कात्तिकमा सबैभन्दा धेरै पाँच सय २८ शव दहन गरिएको छ । त्यस्तै, गत वर्षकै असोजमा तीन सय ४४, मंसिरमा तीन सय १२, भदौमा एक सय ३३, पुसमा एक सय १०, माघमा ५४, चैतमा ३०, फागुनमा २१, साउनमा १६, असारमा सात र जेठमा पाँच शव व्यवस्थापन गरिएका थिए । यो वर्षको १ देखि २० वैशाख सोमबारसम्म दुई सय चार शव दहन गरिएको सेनाले जनाएको छ ।– नयाँपत्रिकाको सहयोगमा

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्