मुख्यसमाज

धरानमा पत्रकारमाथि कुटपिटको भत्र्सना, आशंकामा २१ पक्राउ

रायुजा संवाददाता
इटहरी, २७ मंसिर २०७६ । १३ दक्षिण एसियाली खेलकुद प्रतियोगिता स्थलमा पुगेका पत्रकारमाथि प्रहरीको लाठी बज्रिएको विषय सेलाउन नपाउँदै सुनसरीको धरानमा पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष टेलिभिजनकर्मी सन्तोष काफ्लेमाथि बिहीबार दिउँसै सांघातिक आक्रमण भएको छ । समाचार प्रशारण नभएको वहानामा पत्रकारमाथि भएको ज्यादति, कुटपिटको घोर भत्र्सर्ना गर्दै पत्रकारसम्बद्ध संघ संगठनहरुले विरोध गरिरहेका छन् ।
स्वतन्त्र पत्रकार संघले एक विज्ञप्ति जारी गर्दै सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण सहित उक्त कार्यको घोर भत्र्सना गरिएको छ । पत्रकार कुटपिटमा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै अध्यक्ष खगेन्द्र कार्की, उपाध्यक्ष अकबर अलि र सचिव तेज वनद्वारा हस्ताक्षरित गरेर सोही दिन जारी विज्ञप्तिमा भनिएको छ– आफुहरुद्धारा आयोजित धर्ना कार्यक्रममा समाचार संकलन गर्न ढिलो पुगेको वा आफू निकटका समाचार सम्प्रेषण नगरेको भन्दै पत्रकार काफ्लेमाथि कुटपिट भएको थियो । नाक र ओठमा चोट लागेका काफ्लेको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको अवस्थामा शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ । विज्ञप्तिमा भनिएको छ– घटनामा प्रत्यक्ष अप्रत्यक्ष संलग्न सबै दोषीहरुलाई तत्काल पक्राउ गर्न र पक्राउ गरिएकाहरुबाट सुक्ष्म अनुसन्धान गरी कानुनी कारवाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गर्दछौं । साथै प्रेसको संवैधानिक अधिकारको सम्मान गरी सञ्चारकर्मीहरुलाई निर्वाध र भयरहीत वातावरणमा समाचार संकलन गर्ने अवस्था सिर्जना गर्न सम्बन्धित निकायसँग स्वतन्त्र पत्रकार सघ नेपाल सुनसरी माग गर्दछौं ।
पत्रकारमाथि आक्रमणको आशंकामा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । कुटपिट गर्नेमा नरेश शाही, दीपक राई र एक जना महिला रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। नेपाल पत्रकार महासंघ सुनसरीले पनि उपाध्यक्ष काफ्लेमाथि भएको कुटपिटको निन्दा गरेको छ। प्रेस विज्ञप्ति जारी गर्दै महासंघले कुटपिटमा संलग्नहरूलाई तत्काल कारबाही गर्न माग गरेको छ।

Comment here