फिचरमुख्यसमाज

मोरङको केराबारीमा एक सय आठ जना रक्तदाताको रगत संकलन

युवा जागरण संवाददाता
इटहरी, १० माघ २०७६ । मोरङसुनसरी सेवा समाजको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित रक्तदान कार्यक्रम २०७६ मोरङको केराबारी गाउँपालिकामा बिहीबार सम्पन्न भएको छ । मोरङसुनसरी सेवा समाज र केराबारीका स्थानीय जनताको आर्थिक समृद्धिको आधार बनेको केराबारी १० मा सञ्चालित खदम हिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा आयोजित उक्त खुल्ला रक्तदान कार्यक्रममा १ सय ८ जना रक्तदाताले मानविय सेवाका लागि रक्तदान गरेका छन् ।
अन्तिम अवस्थासम्म मानिसको ज्यान बचाउन प्रयोग हुने रगतको अभावबाट कसैको ज्यान नजाओस् भन्ने मूल उद्देश्यका साथ आयोजित उक्त रक्तदानमा ९३ पुरुष र १५ महिला गरी १ सय ८ जनाले रगत दान गरेका हुन्।
खदम हिल साकोसको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए भने उपाध्यक्ष शान्ति कुमारी भुजेलको विशेष आतिथ्यता रहेको सो कार्यक्रममा संस्थाका पदाधिकारी, स्थानीय बुद्धिजीवि, समाजसेवी तथा विभिन्न संघसंस्थाको आतिथ्यतामा आयोजित उक्त खुल्ला रक्तदान कार्यक्रमको अध्यक्षता खदम हिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोहित कुमार कटुवालले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
रक्तदान जिवनदानःजिवनदान महादानलाई सार्थक तुल्याउने उक्त कार्यक्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राबिधिक सहयोग रहेको मोसुका केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङले बताए ।
मानविय सेवा समर्पित रहेको मोरङसुनसरी सेवा समाजको सामाजिक अभियान अन्तर्गत आयोजित उक्त रक्तदान कार्यक्रममा संस्थाका केन्द्रीय, शाखा तथा प्रवास समितिका वर्तमान तथा पूर्व पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Comment here